४ जुलाईः हकी इण्डियाले यूरोप यात्राको निम्ति २० सदस्यीय राष्ट्रिय महिला टीमको घोषणा गऱ्यो। भारतीय टीमले जर्मनीमा म्याच खेलेपछि १६ जुलाईदेखि स्पेनमा हुने चारदेशीय टुर्नामेण्टमा हिस्सा लिनेछ। यी दुवै टुर्नामेण्ट यस साल सेप्टेम्बर-अक्टोबर महिना चीनको हांगझोउमा हुने एशियन गेम्सको तयारीको निम्ति महत्त्वपूर्ण छ। भारतीय टीमले पहिला जर्मनीमा तीनवटा म्याच खेल्नेछ। यसमा एउटा चीन विरुद्ध अनि अन्य दुईवटा म्याच आयोजक जर्मनी विरुद्ध १६-देखि १९ जुलाईसम्म खेलिनेछ। त्यसपछि टीम स्पेन जानेछ, जहाँ दक्षिण अफ्रिका, ईंग्ल्याण्ड र आयोजक देशसँग २५-देखि ३० जुलाईसम्म म्याच हुनेछ। यी म्याचहरू स्पेन हकी महासंघ अन्तर्राष्ट्रिय टुर्नामेण्टको सयौं वार्षिकीको अवसरमा खेलिनेछ।
मईमा अष्ट्रेलिया यात्रामा जाने भारतीय टीममा अधिक फेरबदल गरिएको छैन। टीमको कप्तानी गोलकीपर सविता पूनियाले गर्नेछिन् जबकि दीप ग्रेस एक्का उपकप्तान रहनेछिन्। अनुभवी डिफेण्डर सुशिला चानू र फरवर्ड दीपिकालाई अष्ट्रेलिया यात्रामा आराम दिइएको थियो तर अहिले यी दुवैलाई टीममा सामेल गरिएको छ। यसरी नै जूनियर एशिया कपमा खेलिसकेकी ओडिशाकी ज्योति छेत्रीलाई पहिलोपल्ट सीनियर टीममा स्थान प्राप्त भएको छ। भारतीय टीमले अहिले बेंगलुरु स्थित राष्ट्रिय शिविरमा अभ्यास गरिरहेको छ। टीमका मुख्य प्रशिक्षक यानेके शपम्यानले भने, स्पेन र जर्मनीको यात्रामा टीमलाई अन्तर्राष्ट्रिय स्तरमा फेरि एकपल्ट प्रतिभा देखाउने मौका हासिल हुनेछ। एशियन गेम्सको तयारीको निम्ति यो यात्रा महत्त्वपूर्ण हुनेछ।
टीमः
गोलकीपरः सविता (कप्तान), बिछू देवी खारीबाम
डिफेण्डरः दीप ग्रेस एक्का, निक्की प्रधान, इशिका चौधरी, उदिता, सुशिला चानू
मीडफिल्डरः निशा, मोनिका, सलीमा टेटे, नेहा, नवनीत कौर, सोनिका, बलजीत कौर, वैष्णवी फाल्के, ज्योति छेत्री
फरवर्डः लालरेम्सियामी, वन्दना कटारिया, संगीता कुमारी, दीपिका।