खरसाङ: अग्रणी गोर्खा भाषा सेवक एंव पायोनियर पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती आज खरसाङमा पालन गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको पाद्री गङ्गाप्रसाद प्रधानको सालिग परिसरमा पाद्री गङ्गाप्रसाद प्रधानको १७३औं जन्म जयन्ती पालन गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र आकाशवाणी खरसाङको पूर्व निर्देशक बलराम राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू लगायत सबै अतिथिहरूले पाद्री गङ्गाप्रसाद प्रधानरो सालिगमा श्रध्दाञ्जली अर्पण गरेका थिए।

पुस्ताकालयको सचिव विनोद रसाइलीले सञ्चालन गरेको उक्त कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधान र उनको जीवनी, कृतित्व र योगदान विषयमा पाद्री गङ्गाप्रसाद प्रधान प्रतिष्ठान खरसाङको सचिव राजीव सुब्बाले आफ्नो वक्तव्यमा राखेका थिए। यस अवसरमा अविदान सुब्बाद्वारा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा लिखित गीत ‘प्रभु अर्जी सुनिदेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ’ प्रस्तुत गरेका थिए। यस अवसरमा कार्यक्रमको प्रमुख अतिथि बलराम राई र सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले पाद्री गङ्गाप्रसाद प्रधान विषयमा आफ्नो वक्तव्यमा बताएका थिए। पाद्री गङ्गाप्रसाद प्रधानको जन्म ४ जुलाई सन् १८५१ मा भएको थियो भने उनको मृत्यु २८ मार्च सन् १९३२ मा भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एलडी मोक्तान, रबीनकुमार प्रधान, तिलक शर्मा, जीबी बल, पारसचन्द्र आले, आशा मुखिया लामा लगायत सूचना अनि सांस्कृतिक विभाग खरसाङको कर्मचारीहरू साथै अन्यहरू उपस्थित रहेका थिए।

पाद्री गङ्गाप्रसाद प्रधानको योगदानलाई कदर गर्दै जीटीएले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिनेलाई पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार प्रदान गर्दै आईरहेको छ। पाद्री गङ्गाप्रसाद प्रधानको सालिग पहिलोपल्ट खरसाङमा गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा गत वर्ष अनावरण गरिएको थियो।