सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एसपी शर्माले जुन प्रकारले भाजपा र गठबन्धन दलहरूका चुनाव मेनिफेस्टो च्याँत्ने काम गरेको छ त्यो राम्रो भएन अनि यस्तो राम्रो व्यवहार होइन भनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष मन घिसिङले आज बताएका छन्। गोरामुमो अध्यक्ष मन घिसिङ आज आफ्नो पार्टी कार्यकर्ताहरूलाई भेट्न सोनादा आएका थिए। यसावधि पत्रकारहरूसित कुराकानी गर्दै मन घिसिङले एसपी शर्माले आफ्नो व्यवहारमा सुधार गर्नु पर्ने सुझाव दिएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, ‘यो समय त्यस्तो व्यवहार गर्ने समय होइन। पोष्टर च्याँत्ने, मेनिफेस्टो च्याँत्ने, झण्डा च्याँत्ने गर्नु राम्रो होइन। यसले गर्दा झगड़ा हुने सम्भावना रहन्छ। तीतोपन हुनसक्छ। उनले त्यस्तो व्यवहारलाई सुधार गर्नुपर्छ। अागामी दिनमा उनले तेस्तो नहरोस् भन्ने मेरो सुझाव छ किनभने यस्तो प्रकारको व्यवहारले जनतालाई मेसेज राम्रो जाँदैन।’
गोरामुमो अध्यक्ष मन घिसिङले पञ्चायत चुनाव विषयमा सोधिएको प्रश्नको उत्तरमा भने, ‘पञ्चायत चुनावलाई गोरामुमोले सकरात्मक रूपमा लिएको छ। यसले गर्दा ग्रामीण क्षेत्रका विकास हुन्छ। तर पनि गोरामुमोको आफ्नै स्ट्याण्ड छ।’