गान्तोक: नाम्ची जिल्लाको तुरुक पाँचघरेमा आजदेखि २०९औं भानु जयन्ती साथै स्वार्गीय टेक बहादुर बुढाथोकी स्मृति पुरुष भलिवल प्रतियोगिताको शुभारम्भ भयो। आजको कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा पञ्चायत जिल्ला अध्यक्ष अञ्जिता राजालिम, विधायक फरवान्ती तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आदि कवि भानुभक्तको तस्बीरमा माल्यार्पण गर्दै आजदेखि कार्यक्रम शुरू भएको विधिवतरूपमा घोषणा गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले २०९औं भानु जयन्तीको अवसरमा सबै सबैलाई हार्दिक बधाई तथा शुभकामना दिए। भानुभक्तले नेपाली समाजमा दिएको योगदान अतिनै सराहनीय रहेको बताउँदै उनले समस्त नेपाली भाषीहरुलाई एकीकरण गर्न ठूलो भूमिका निर्वाह गरेको बताए। भानु भक्त अनि उनको कृतिहरू समस्त नेपली समाजको निम्ति वरदान सरह नै रहेको उनले थप बताए। उनको यो जन्म जयन्ती समस्त भारतमा नेपालीभाषी समाजले अतिनै भव्य रूपमा मनाउने प्रथा रहेको बताउँदै गान्तोकमा यस वर्ष अन्तर्राष्ट्रिय स्तरको भानु जयन्ती समारोह पालन गरिने अवगत गराए। यसरी नै मल्ली निर्वाचन क्षेत्रलाई वर्तमान सरकारले अतिनै प्राथमिकता दिएर विभिन्न विकासीय कार्यहरू गरिरहेको उनले बताए। आफूहरु विपक्षमा हुँदा मल्ली क्षेत्रमा सबै प्रकारको विकास भइरहेको भन्ने झैँ लाग्ने गरेको तर आफूहरु सरकारमा आएपछि हेर्दा मल्ली त खोक्रो रहेको उनले महसुस गरेको बताए। यहाँ त केवल एउटै परिवार अनि परिवारका सदस्यहरूको काम अनि विकास भएको कुरा स्पष्ट भएको खालिङले अवगत गराए। ती परिवारले स्थानीय युवाहरुलाई विपक्षीहरुको घर अनि गाडीमा केवल ढुङ्गा हान्न लगाएको दावी गरे। मल्ली क्षेत्रको केवल एक परिवारले प्रत्येक समाज, संगठनको शिर्ष पदमा रहेर लाभ उठाउने गरेको उनले खालिङले किटान गरे। यहाँको गरीब जनताको नाममा उक्त व्यक्तिले लुटेको सम्पूर्ण सम्पतिको हिसाब किताब सरकारले गर्ने योजना रहेको जनाए। यसको साथै दोषीलाई मात्र केवल कारवाही गरिने तर निर्दोष जनतालाई कुनै पनि प्रकारको आँच आउन नदिइने खालिङले बचन दिए। वर्ष २०१९ सम्पन्न भएको सिक्किम विधान सभाको चुनाउमा जसले जिते पनि वर्तमान समयमा सरकारसँग मिलेर यो क्षेत्रको विकास गर्न काम गरिरहेको बताए। तर अब २०२४ मा यस क्षेत्रको सर्वाङ्गीण विकास गर्नको निम्ति टेबल ल्याम्पलाई जिताउने पनि आग्रह गरे। आज प्रथम दिनको भलिवल प्रतियोगिता राइजिङ बोयज वनाम आरजेसीमाझ सम्पन्न भयो।