राजगञ्ज: राजगञ्जको गोआबारी इलाकामा केही घरहरू जलमग्न भएको छ। राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत बन्धुनगर संलग्न गोआबारी गाउँको केही घरहरूमा वर्षाको पानी पसेपछि गाउँलेहरूले समस्याको सामना गर्न परिरहेको छ। स्थानीय मानिसहरूले बताएअनुसार केही दिनदेखि लगातार परिरहेको पानीले गर्दा गाउँमा पानी जमेको छ। घरहरूमा पानी पसेपछि निक्कै असुविधा भइरहेको छ। जल निकासी व्यवस्था नभएकोले गर्दा नै पानी जम्ने गर्दछ यसको साथै सडकहरूमा पनि पानी जमेकोले गर्दा नानीहरूलाई स्कुल जान धेरै असुविधा भइरहेको छ। प्रत्येक वर्ष वर्षाको समयमा यस समस्याको सामना गर्न परिरहेको छ।
यस सम्बन्धमा इलाकाका विदायी पञ्चायत सदस्य जाकेर हुसेनले भने, उक्त इलाकामा सडक तथा नालीहरूको निर्माणको लागि अनुमति पाएको छ। तर इलाकाका मानिसहरूले जमीन नछोडेकोले गर्दा काम पुरा हुन सकेको छैन। पञ्चायत चुनाउपछि सडक निर्माणको काम गरिनेछ।