गान्तोक: गान्तोक नगर निगमको एक महत्वपूर्ण समन्वय बैठक आज देउरालीस्थित जीएमसी कार्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। विभिन्न विभागका अधिकारीहरूलाई लिएर आयोजित बैठकको अध्यक्षता तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलले गरेका थिए। आजको यस बैठकमा विशेष गरेर फोहोर प्रबन्धन, मैला छुट्टायउने प्रक्रिया, पिउने पानी, पानी बग्ने नाला आदिको उचित व्यवस्थापनलाई लिएर चर्चा परिचर्चा गरियो। उक्त बैठकमा सबै पार्षदहरूले आ-आफ्नो गाउँ,वार्डको समस्या र समाधान कसरी गर्न सकिन्छ भन्नेबारे मन्तव्य प्रकट गरे। बैठकलाई सम्बोधन गर्दै विधायक ढुङ्गेलले आज जति पनि विषयमाथि छलफल गरियो, त्यो राज्यसँग समवन्धित रहेको कारण राज्यको मामिला रहेको बताए। विशेष गरेर उनले प्रतिदिन मैला उठाउने, मैला छुट्टाएर वाहनमा फ्याँक्ने यी सबै सामुदायिक अर्थात समाजको विषय रहेको अवगत गराए। आज बैठकमा छलफल गरिएको सबै विषयहरूमाथि सबैले इमान्दारपूर्वक कार्यान्वयन गरिनु पर्ने उनले सुझाउ दिए। यसै क्रममा मेयर निल बहादुर छेत्रीले जीएमसीले केही दिन अघिदेखि राती राती मैला उठाउने पहल शुरू गरेपछि हाल राष्ट्रीय राजमार्गमा मैला नदेखिएको किटान गरे। विशेष गरेर राति मैला फ्याँक्ने प्रथालाई बन्द गर्नको निम्ति पुलिसले पनि पेट्रोलिङ गर्नुपर्ने सुझाउ दिएका छन्। यसरी नै शहरी विकास एवम आवास विभागका सचिव एमटी शेर्पाले पनि आफ्नो महत्वपूर्ण सुझाउ राखेका थिए।