गुवाहाटी: भारत रत्न डा. भूपेन हजारिकाकी बहिनी तथा प्रमुख संगीतकार सुदक्षिणा सरमाको सोमवार बिहान ८:२५ बजे निधन भयो। लामो समयदेखिकै अस्वस्थ्य रहेकी सरमाको निधन ८९ वर्षको उमेरमा गुवाहाटी मेडिकल कालेज एण्ड अस्पताल (जीएमसीएच)-मा भएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। सुदक्षिणा सरमा गीतकार तथा संगीतकार दिलीप सरमाकी पत्नी हुन्।
८ अगस्त १९३४ मा जन्म ग्रहण गरेकी सुदक्षिणा सरमाको बाल्यकालको नाम निरूपमा हजारिका थियो। उनले रेडियोमा पहिलो पटक क्वीन हजारिकाको नामबाट गीत गाएकी थिइन्। विहे भएपछि ससुरा दीनानाथ सरमाले विनम्र साथै हँसमुख स्वभावको कारणले उनको नाम सुदक्षइमा राखिदिएका थिए। तबदेखि नै उनलाई सुदक्षिणा सरमाको नामले चिनिन्छ।
धनाढ्य परिवारमा जन्मिएकी सुदक्षिणा सरमा बाल्यकालदेखि नै ज्योति प्रसाद अग्रवाल, बिष्णुप्रसाद अग्रवाल, फणी सरमा जस्ता व्यक्तिहरूको सम्पर्कमा आइन्। मात्र दश वर्षको उमेरमा उनले कलकत्तामा बिष्णु प्रसाद राभाको निगरानीमा कमलनारायण चौधरीसित आफ्नो आवाजमा चारवटा गीत रेकर्डग गरेकी थिइन्। जसमा ‘विश्वरे संदे संदे…’र ‘ओ मोइना…’ प्रमुख छन्। सन् २००२ मा सुदक्षिणा सरमालाई पति दिलीप सरमासितै संगीतको क्षेत्रमा अग्रणी योगदान दिए बापत संगीत नाटक अकादमी पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडिया पोस्ट साझा गर्दै लेखेका छन्- ‘असमको सांस्कृतिक दुनियाँकी प्रमुख तारा औ प्रमुख संगीतकार सुदक्षिणा सरमाको निधनले दुःख पुऱ्याएको छ। असमिया संगीतलाई समृद्ध बनाउने सरमाको निधन राज्यको सांस्कृतिक एवं सामाजिक क्षेत्रको लागि अपूरणीय क्षति हो। म दिवंगत आत्माको शान्तिको लागि ईश्वरसित प्रार्थना गर्दछु र शोक सन्तप्त परिवारप्रति गहिरो सम्वेदना व्यक्त गर्दछु।’ सुदक्षिणा सरमाको निधनमा सम्पूर्ण असम सहित सांस्कृतिक औ सामाजिक क्षेत्रका मानिसहरूले शोक व्यक्त गरेका छन्। -हिस