तृणमूललाई निमिट्यान्न पार्ने शुभेन्दु अधिकारीको आह्वान

2ede5513-42a8-4cb9-a524-b9308573ccf2

कालचिनीः अलिपुरद्वार जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउमा उभिएका प्रार्थीहरूको निम्ति आइतबार डुवर्सको बीरपाड़ा, कालचिनी र बाराबिसामा चुनावी जनसभा गर्दै आएका भाजपा नेता शुभेन्दु अधिकारीले पञ्चायत चुनाउ मात्र क्वार्टर फाइनल रहेको अझै सेमीफाइनल र फाइनल म्याचसम्म पुग्दा तृणमूलको सुपड़ा सफाचट हुने हुँकार गरे। कालचिनी थाना मैदानमा अबेर ४ बजी आइपुगेको भाजपा नेता तथा राज्य विधानसभाका प्रतिपक्षी प्रमुख शुभेन्दु अधिकारीले भ्रष्टाचारमुक्त ग्राम पञ्चायत गढ़्न तृणमूलको परिवारवादको अन्त्य गर्नु पर्ने र ब्यालेट भोटमा केवल कमल फूलमा छाप हान्ने आह्वान गरे। अबेरगरी कालचिनी आईपुगेका भाजपा नेता शुभेन्दु अधिकारीले तृणमूलले भोट गणनामा छक्का पञ्जा गरेर भोट जित्ने प्रयास गर्नेछ तर यसपाली गणना केन्द्रमा सांसद र विधायकले यसको निरीक्षण गर्न बस्ने बताए। बीरपाड़ा जनसभाबाट ढिलोगरी कालचिनी आइपुगेका शुभेन्दु अधिकारीसित भाजपा अलिपुरद्वार सांसद तथा केन्द्रिय उपमन्त्री जोन बारला, मदारीहाट विधायक मनोज तिग्गा, कालचिनी विधायक विशाल लामा, सिलगढ़ी विधायक शंकर घोष एवम् भाजपा अलिपुरद्वार जिल्ला सभापति भूषण मोदक लगायत अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
भाजपा नेता शुभेन्दु अधिकारीले आफ्नो सम्भाषण शुरु गर्न अघि जय गोर्खा र जय जोहारको नारा लगाएको थियो। पञ्चायती व्यवस्थाको भुमिका बाँध्दै तिनले बंगालमा पञ्चायती राजमाथि सत्तारूढ़ तृणमूल सरकारले दुरपयोग गरेको र फेक जबकार्ड पञ्जिकरण गरेर करोड़ौँ रुपियाँ हिनामिना गरेकोले नै केन्द्रबाट यसको जाँच चलिरहेको र जनताले चाँडै यसबाट न्याय पाउने बताए। बाराबिसा जान अबेर भएकोले कालचिनी जनसभामा भाजपा नेता शुभेन्दु अधिकारीले मात्र आफ्नो कुरा राखेको थियो भने मञ्चबाट बाहिर निस्कन्दा पत्रकारहरूसित कुनै कुरा नराखी तिनको कन्भाई निस्किएको थियो।

About Author

Advertisement