७ दिवसीय फस्ट समर बक्सिङ क्याम्पको समापन

IMG-20230702-WA0380.jpg

सोरेङ। सोरेङ जिल्ला ओलम्पिक एसोसिएसन र सोरेङ जिल्ला बक्सिङ एसोसिएसनको संयुक्त तत्वावधानमा कर्थोक स्कुलमा आयोजित ७ दिवसीय फस्ट समर बक्सिङ क्याम्पको समापन भएको छ। समापन कार्यक्रमको अवसरमा बक्सिङ क्याम्पका नवोदित बक्सरहरुलाई बक्सिङ खेलप्रति प्रोत्साहित गर्न सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोलेले उपस्थित थिए।

सम्बोधन गर्ने क्रममा विधायक गोलेले सोरेङ जिल्ला ओलम्पिक एसोसिएसन र सोरेङ जिल्ला बक्सिङ एसोसिएसनलाई सफलतापूर्वक बक्सिङ प्रशिक्षण शिविर आयोजना गरेकोमा बधाई दिँदै विधायक गोलेले खेलकुद क्षेत्रमा सोरेङ जिल्लालाई पावर हाउस बनाउनुपर्छ भने।
वहाँले अघि भने, अब सोरेङ जिल्ला ओलम्पिक एसोसिएसनको छातामा विभिन्न खेलकुदको एसोसिएसन खोलेर खेलकुद क्षेत्रमा स्थानीय खेलाडीहरुलाई मञ्च प्रदान गर्नुपर्छ। सिक्किममा बक्सरहरुको भविष्य सुनौलो छ। एसकेएम सरकारले सिक्किममा अर्जुन पुरस्कार प्रापक जसलाल प्रधान स्टेट बक्सिङ एकाडमी खोल्ने निर्णय लिइसकेको बताए।

उल्लेख्य, कर्थोकमा आयोजना गरिएको बक्सिङ क्याम्पमा ४५ जना बक्सरहरुले प्रशिक्षण लिएका थिए भने उनी ७ वर्षदेखि लिएर १७ वर्षसम्मका कलिला बक्सरहरु रहेको थियो। शिविरमा पुरुष र महिला दुवै बक्सरहरुले प्रशिक्षण लिएको हो।

बक्सिङ प्रशिक्षण शिविरको समापन कार्यक्रममा विधायक आदित्य प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँसँग खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, जिल्ला पञ्चायत सदस्य अजय सुब्बा, साभाका महासचिव एवं खेलकुद एवं युवा मामिला विभागका अतिरिक्त निर्देशक आरबी विश्वकर्म, बीडीओ एसके शर्मा, पञ्चायत सभापति तुलाराम छेत्री, सोरेङ जिल्ला ओलम्पिक एसोसिएसन तथा सोरेङ जिल्ला बक्सिङ एसोसिएसनको अध्यक्ष लोब्जाङ तामाङको साथमा एसोसिएसनका सम्पूर्ण सदस्यगण, सोरेङ ब्याटमेन्टन एसोसिएसनका अध्यक्ष एबी गुरुङसहित एसोसिएसनका सम्पूर्ण सदस्यगण, सोरेङ जिल्ला बक्सिङ एसोसिएसनका महासचिव पारुहाङ सुब्बा, खेलकुद एवं युवा मामिला विभागकी उप-निर्देशक ममिता गुरुङ, स्थानीय पञ्चायतगण, प्रशिक्षक लोजिहाङ्मा लिम्बु, देउकुमार छेत्री र दिपेन कार्की र सोरेङ जिल्ला बक्सिङ एसोसिएसनका पदाधिकारीगण, विभागीय कर्मचारीगण र बक्सर नानीहरूको अभिभावकहरुको उपस्थिति थियो।

उल्लेख्य, सिक्किम सरकारले दिग्गज बक्सर तथा अर्जुन पुरस्कार प्रापक जसलाल प्रधानको सम्मानमा स्टेट बक्सिङ एकाडेमी स्थापना गर्ने सरकारी अधिसुचना पनि निकालिसकेको छ। उक्त एकाडेमीको नाम जसलाल प्रधान स्टेट बक्सिङ एकाडेमी रहेको छ। मुख्यमन्त्री पीएस गोलेले १८ जूनमा राजधानी गान्तोकको पाल्जर स्टेडियममा एक कार्यक्रम अवधि जसलाल प्रधान स्टेट बक्सिङ एकाडेमी स्थापना गरिने घोषणा गरेका थिए। सरकारको बक्सिङ एकाडेमी स्थापना गर्ने फैसला पछि राज्यमा बक्सिङ खेलाडीहरु निकै उत्साहित छन्।

समापन कार्यक्रममा विधायक गोलेलाई साभाको तर्फबाट अभिनन्दन पनि जनायो। कार्यक्रममा सोरेङ जिल्ला ओलम्पिक एसोसिएसनका अध्यक्ष लोब्जाङ तामाङ, साभाको महासचिव डा. आरबी विश्वकर्मा, सोरेङ जिल्ला बक्सिङ एसोसिएसनका महासचिव पारुहाङ सुब्बा, खेलकुद एवं युवा मामिला विभागका उप निर्देशक ममिता गुरुङ, पञ्चायत सभापति तुलाराम छेत्री र सोरेङ जिल्ला ओलम्पिक एसोसिएसनका कोषाध्यक्ष नवराज शर्माले पनि सम्बोधन गरे। कार्यक्रमको अन्तमा विधायक गोलेले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement