काठमाडौं: चीनले नेपालमा बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) कार्यान्वयनमा दबाब दिएको छ। नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका दौरान यसबारे चासो राखेको हो। तर, नेपालले यसबारे स्पष्ट मोडालिटी दिन भनेको छ। भ्रमणबाट आइतबार स्वदेश फर्किएका उपप्रधानमन्त्री श्रेष्ठले चीनले बीआरआई कार्यान्वयनमा चासो राखेको बताए। बीआरआईमा २०१७ मा सम्झौता भइसकेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लाउने जवाफ दिएको बताए।
श्रेष्ठले बीआरआई सम्झौताबाट नेपाल लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले चिनियाँ लगानी वृद्धी गर्नेबारे समेत आफ्नो भ्रमणमा छलफल भएको बताए। चीनले नेपालमा बीआरआई कार्यान्वयनमा आइसकेको बताइरहँदा उपप्रधानमन्त्री श्रेष्ठको पछिल्लो भनाइ आएको हो। सम्झौता भएको ६ वर्ष पुग्दा पनि नेपालले बीआरआई परियोजनाअन्तर्गत ऋण लिन नसकिने बताउँदै आएको छ। यसैगरी, श्रेष्ठले चीनसँग थप व्यापारिक नाका खोल्नेबारे आफूले छलफल गरेको बताए। नेपाल चीन सीमानाकामा आवतजावत् सहज बनाउन चीन सकारात्मक भएको उनको भनाइ थियो। चीनले कोभिड-१९ को महामारी पछि नेपालसँगको सीमानाकाहरु बन्द गरेको थियो। सन् २०२३ बाट रसुवा र तातोपानीसँगको नाका खोले पनि अन्य नाका खोलेको छैन। नाकाहरु सामान ढुवानीका लागि मात्र खोलेको छ।
नेपालका उपप्रधानमन्त्री श्रेष्ठले चीनको छेन्दुबाट पोखरा र भैरहवामा व्यवसायिक उडान शुरु गर्न आग्रह गरेको बताए। सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको उनको भनाइ थियो। पोखरामा जून महिनामा सिचुवान एयरलाइन्सले पहिलो चाटर्ड उडान गरिसकेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋणमा निर्माण भएको हो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनीले बनाएको हो। यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेका छैनन्। -हिस