जलपाइगढी: जलपाइगढीबाट बानरहाट जाँदै गर्दा पुलिसको पाइलट भ्यान दुर्घटनामा परेको छ। पुलिसको गाडीका चालकसहित असई गम्भीर घाइते भएका छन्। जलपाइगढी जिल्लाको धुपगढी ब्लकको ठाकुरपाथ क्षेत्रमा आइतबार बिहान एसियाली राजमार्ग ४८ मा दुर्घटना भएको हो। दुर्घटनामा दुई पुलिस गम्भीर घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार तीनवटा कार दुर्घटनामा परेका छन्। बानरहाटतर्फ गइरहेको पुलिसको पाइलट भ्यानले गाडीलाई ओभरटेक गर्दा गोयरकाटा दिशाबाट आउँदै गरेको दुध भ्यानसँग ठोक्किएको हो। त्यसपछि दुधको भ्यानको पछाडिबाट एउटा कन्टेनरले ठक्कर दिएको थियो। दुर्घटनामा पुलिसको गाडी पल्टिएको छ। खबर पाएर धुपगढी दमकलको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी धुपगढी ग्रामीण अस्पताल पुऱ्याएका थियो । जानकारी पाएलगत्तै धुपगढी थानाका पुलिस र ट्राफिक ओसी घटनास्थल र अस्पताल पुगेका थिए। पुलिस स्रोतका अनुसार जलपाइगढीबाट बानरहाट लक्षीपाडा चिया बगान जाने क्रममा एएसआई परितोष बर्मनसहित ४ जना पुलिस दुर्घटनामा परेका थिए। दुर्घटनामा पुलिस जवान बिट्टु विश्वकर्मा र एएसआई परितोष बर्मन गम्भीर घाइते भएका छन् र उनीहरूलाई जलपाइगढीको सुपर स्पेशलिटी अस्पतालमा लगिएको छ। घटनाको सम्बन्धमा डीएसपी विक्रमजीत लामाले फोनमा भने कि भ्यानका पाइलट जलपाइगढीबाट बानरहाट जाँदै गर्दा धुपगढी नजिकै दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुवै घाइतेलाई धुपगढी ग्रामीण अस्पतालबाट जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा रिफर गरिएको छ। घटनाको पुलिसले अनुसन्धान सुरु गरेको छ।