काठमाडौं: नेपालको एक राजनीतिक दलले चीन र भारत दुवैको वर्तमान भूभागहरु समेटेर शुक्रवार सार्वजनिक गरेको नेपालको सांस्कृतिक नक्साको विषय चर्चामा पुगेको छ। यसअघि ग्रेटर नेपाल भनी सार्वजनिक नक्सामा भारतको मात्र भूभाग समेटिएकोमा विवेकशील पार्टीले सार्वजनिक गरेको नक्सामा चीनको समेत भूभाग समेटिनुले चर्चा बनेको हो। विवेकशील पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र गहिरो अनुसन्धानपछि सार्वजनिक गरिएको बताए। उनले इतिहासमा नेपालले जहाँसम्म सैन्य विजय हासिल गरेको थियो त्यहाँसम्मको भूभाग समेटिएको बताए।
विवेकशीले सार्वजनिक गरेको सांस्कृतिक नक्सामा चीनको तिब्बतमा रहेको मानसरोवर, सिगात्सेको तासिहुम्पो गुम्बा पनि छ। माउन्ट एभरेष्टभन्दा उत्तरतर्फको केही भूभाग पनि नेपालको सांस्कृतिक नक्सामा छ। यी सबै भूभाग अहिलेको तिब्बतमा पर्दछन्। भारततर्फको उत्तराखण्ड, हिमाचल, सिक्किम, दार्जीलिङ र बिहारका कतिपय भूभाग पनि सांस्कृतिक नक्सामा समेटिएका छन्। भारतले आफ्नो नयाँ संसद भवनमा नेपालको भूभागसहित समेटेर सांस्कृतिक नक्सा राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ। विभिन्न समूहले भारतको मात्र भूभाग समेटेर नेपालको सांस्कृतिक नक्सा भन्दै सार्वजनिक गरेका थिए। विवेकशील साझा पार्टीले भने चीनको समेत भूभाग समेटेर सांस्कृतिक नक्सा समेटेको छ। विवेकशील साझा पार्टीका उपाध्यक्ष परियारले यो नक्सा राजनीतिक नभई सांस्कृतिक मात्र भएको बताए। नयाँ पुस्तालाई नेपालको गौरवगाथा सम्झाउनका लागि सांस्कृतिक नक्सा अनिवार्य भएको उनको भनाइ छ। -हिस