काठमाडौं: नेपालमा पूर्व माओवादी शक्तिबीच एकताको पहलले गति लिएको छ। नेपालमा १९९६ देखि २००६ सम्म सशस्त्र विद्रोह गरेर शान्ति प्रक्रिया आउँदा माओवादी शक्ति विभिन्न भागमा विभाजित भएको छ। ती शक्तिलाई मिलाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आफै सक्रिय छन्। प्रचण्डले शनिबार पोखरामा गण्डकी प्रदेशका पदाधिकारीहरुसँगको अन्तक्रियामा पूर्वमाओवादी शक्तिबीच एकताको पहल भइरहेको खुलासा गरेका हुन्। पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको उनको भनाइ थियो। प्रचण्डले माओवादी शक्ति विभाजित हुँदा परिवर्तन नै कमजोर हुने खतरा रहेको समेत बताए।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चा गठन भइसकेको छ। मोर्चामा पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लव समेत सहभागी छन्। पूर्वमाओवादी नेतामध्ये डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग गठबन्धन गरेर नोभेम्बर २०२२ को संसदको चुनाव लडेको थियो। भट्टराईसँग एकताका लागि प्रचण्डले पहल गरिरहेका छन्। पूर्वमाओवादी नेता मोहन वैद्य नेतृत्वको अलग पार्टी छ। अर्का नेता रामबहादुर थापा बादल नेकपा एमालेमा छन्। -हिस