गान्तोकः दक्षिण जिल्लाको जोरथाङस्थित खेल मैदानमा आज ग्वाला दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टीको सरकार गठन भए यता परिश्रम गर्ने खटीखाने कृषकहरूको हितमा वर्ष २०२१ देखि ग्वाला दिवस शुरू गरिएको बताए। पूर्व सरकारले ग्वालाहरूको हितमा कुनै पनि योजना नबनाएको पनि उनले आरोप लगाए। सिक्किमले ग्वाला दिवस शुरू गरेर इतिहास कायम गरेको उनले दाबी गरे।
ग्वालाहरूको निम्ति एसकेएम सरकार सदैव साथमा रहने पनि उनले विश्वास दिलाए। उनले एसडीएफतिर इशारा गर्दै शोषक सरकारलाई पुनः सत्तामा ल्याउन नहुने राज्यवासीहरूमा आह्वान पनि गरे। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले बेस्ट मिल्क कोअपरेटिभ सोसाइटीलाई मुख्यमन्त्री कोषबाट दस लाख, दोस्रोलाई ७ लाख र तेस्रो हुनेलाई पाँच लाख प्रदान गरिने घोषणा गरे। ग्वालाका छोरा छोरीले बाहिर पढनको निम्ति टेस्टमा उत्तीर्ण भएकाहरूलाई मुख्यमन्त्री छात्रवृत्ति योजना अन्तर्गत सहयोग प्रदान गरिने बताए। उनले कृषि मेला आयोजना गरेर दुई हजार गाई वितरण गरिने थप घोषणा गरे। यसरी नै अब चालिसवटा मिल्क कोअपरेटिभ बनाउने उनले जानकारी गराए। हालसम्म लम्पी रोगका कारण १७२ वटा गाई मरिसकेको जानकारी गराउँदै ३२९३ वटा गाईलाई यस रोगको असर परेको बताए। उनले जस-जसको गाई मरेको छ, उनीहरूलाई सरकारको तर्फबाट क्षतिपूर्ति प्रदान गरिने वचन दिए। यस विषयलाई लिएर विपक्षी पार्टीहरूले किसानहरूलाई नचम्काउँदा हुन्छ भनी बताए। उनले भने, म कम भाषण गर्छु, काम बेसी गर्छु। एसकेएम पार्टीले गरेको काममाथि आह्रिस गर्नेहरूलाई २०२४ को चुनाउमा जनताले देखाइदिने बताए।
सिक्किम सुधार गर्छु भन्दै हिँडनेले एमपीसीएसबाट गरीबको नाममा ऋण लिएर नतिरेको उनले बताए। सिस्को व्याङ्कबाट लिएको ऋण स्वीकार गरिसकेको र तिर्ने पनि वचन दिएको उनले जानकारी गराए। क्यापका अध्यक्ष राईले जनताको नाममा लिएको पैसा तिर्ने लिखितरूपमा व्याङकलाई चढाइसकेको अवगत गराए। सिक्किम उर्जा प्राइभेट लिमिटेको सेयर बिक्री नगरेको मुख्यमन्त्रीले दावी गरे। तर यस विषयमा विपक्षी दलले जनतालाई दिग्भ्रमित गरिरहेको छ भनी बताए।
मन्त्री लोकनाथ नेपालले आफ्नो सम्बोधनमा वर्तमान सरकारले किसानहरूको निम्ति गाउँमुखी कार्यक्रम बनाएकाले धेरैले लाभ उठाउन सक्षम बनेको बताए। सिक्किम मिल्क युनियनले दुधमा प्रदान गरिने प्रोत्साहन राशि देशको अन्य राज्यमा यति धेरै प्रदान नगरिएको बताए। उनले पहिलाको तुलनामा अहिले दूध उत्पादनमा वृद्धि भएको जानकारी गराउँदै वर्तमानमा ६५ हजार लिटर दूध प्रतिदिन उत्पादन हुने गरेको जानकारी गराए। कार्यक्रममा सर्वाधिक दुध उत्पादक गर्ने राज्यका ६ वटा जिल्लाका एमपीसीएसलाई पुरस्कार प्रदान गरियो। सोही प्रकारले सर्वाधिक दूध उत्पादनको निम्ति नाम्ची जिल्लालाई पुरस्कार प्रदान गरियो। वर्ष २०२२ को अधिक दुध उत्पादक “मिल्क पर्सन अफ द ईयर” पुरस्कार मिना राईलाई प्रदान गरियो। उनले प्रतिदिन ३४३ लिटर दूध उत्पादन गर्दै आइरहेकी छन्। यसैक्रममा आज गरीब जनकल्याण प्रकोष्ठको पहलमा ४५ जना रोगीहरूलाई आर्थिक सहयोग पनि मुख्यमन्त्रीको वाहुलीबाट प्रदान गरियो।
-हिस