गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङस्थित माझीगाउँको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिको जायजा लिए। गत केही दिन अघदेखि निरन्तर परेको पानीले रामबाङ खोलाको जलास्तरमा वृद्धि भएपछि माझीगाउँका केही घरहरू साथै सडक मार्गलाई पनि क्षति पुऱ्याएको छ। आज मुख्यमन्त्रीले यस स्थानको भ्रमण गरेपछि स्थानीयहरूलाई सुरक्षित स्थानमा लगिएको र सुरक्षा पर्खाल लगाउने कार्य शुरू गरिएको बताए। उनले जानकारी गराए अनुसार, अहिले राज्यका विभिन्न ठाउँका खोलाहरूको किनारमा रहेका घरहरूलाई प्रभाव पारेको छ। सरकारले नागरिकहरूको सुरक्षालाई लिएर पहलहरू शुरू गरिसकेका छन्।
उनले खोलाको किनारमा घर नबनाउने पनि आग्रह गरे। नागरिकहरू सचेत हुनुपर्ने र जताततै घर बनाउनु नहुने उनले बताए। पूर्व सरकारमा यस क्षेत्रमा बनिएको पानी बग्ने नालाको सही ढङ्गमा व्यवस्था नहुँदा फोहोर मैला थुप्रिएपछि पानी बग्न नपाएर यसले क्षति पुऱ्याएको उनले अवगत गराए। उनले यदि प्रकृतिले कसैको पनि धन-सम्पतिको क्षति पुऱ्याएको छ भने सरकारले आपदा कोषबाट क्षतिपूर्ति प्रदान गर्दै आइरहेको बताए। मानिसको सम्पति भन्दा ठूलो ज्यान भएको कारण स्थानीयहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले घर खाली गर्नुपर्ने नोटिस जारी सकेको उनले बताए। भ्रमण अवधि क्षेत्र विधायक सुनिता गजमेर लगायत अन्य अधिकारीहरू पनि उपस्थित थिए।
-हिस