पेरिस: फ्रान्सका सडकमा एक किशोरलाई पुलिसले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउँ ठाउँमा आगो बालेर आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन्। सीएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ। अहिलेसम्म पुलिसले करिब एक हजार जनालाई पक्राउ गरेको छ। फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ। सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ। शुक्रबार रातिसम्म ७९ जना पुलिस घाइते भएका छन् भने ५८ पुलिस स्टेसनमा आक्रमण भएका छन्। बीएफएमटीभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन। पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो। उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो। नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ।