खरसाङ: खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई साथै मानिसहरूलाई बाँदरको आक्रमणदेखि जोगाउन सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङ महकुमा कार्यालयको तत्परतामा विभिन्न विभागहरूलाई लिएर आज खरसाङ बजारमा सचेतना रैली निकालिएको छ भने बजारको विभिन्न दोकानहरूमा गएर बाँदरबाट जोगिने उपायहरू साथै बाँदरलाई खानेकुराहरू नदिने आह्वान् गरिएको छ। खरसाड शहरमा बाँदरको उपद्रोलाई मध्य नजर राखेर खरसाड नगरपालिकाद्वारा धेरै दिनदेखि कार्य गरिरहेता पनि खरसाड महकुमा अधिकारीको पहलमा गत केही दिन अघि मात्र वन-विभाग, स्वस्थ्य विभाग, खरसाङ नगरपालिका, पुलिस विभाग, व्यवसायी संगठन, वरिष्ठ नागरिकहरूलाई लिएर सयुंक्त सभा सम्पन्न गरी बाँदरको उपद्रो बन्द गर्न जुलाई महिनादेखि प्रत्येक शनिवार शहरमा जनचेतना कार्यक्रम गरिने निर्णय लिए वापत आज शनिवार खरसाङ शहरमा जनचेतना कार्यक्रमको आयोजना गरिएको छ।

उक्त सचेतना कार्यक्रम अनुसार प्रथममा बाँदरबाट जोगिनु पर्ने विषयमा सचेतना रैलीको आयोजना गरिएको छ। यस अवसरमा खरसाङ महकुमा शासक कार्यालयबाट महकुमा शासकको सीए रामकुमार प्रधान, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वन विभागको रेञ्जर अफिसर प्रमित लामा, पुलिस प्रशासन, खरसाङको व्यवसायी संगठन, स्वस्थ्य विभाग, सूचना विभाग, खरसाङ व्यवसायी संगठन, वरिष्ठ नागरिकरू विशेष रूपमा उपस्थित रहेका थिए। यसै सचेतना रैलीलाई खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ महकुमा शासकको सीए रामकुमार प्रधान, वन विभागबाट रेञ्जर अफिसर प्रमित लामा, स्वस्थ्य विभागबाट बिजय सेञ्चुरी लगायत वरिष्ठ नागरिकहरूले पनि सम्बोधन गरेका थिए। खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई खरसाङ महकुमा शासक कार्यालयको पहलमा सप्ताहको प्रत्येक शनिवार सचेतना कार्यक्रम गरिने जानकारी महकुमा शासक कार्यालयबाट रामकुमार प्रधानले जानकारी गराएका छन्।

उनले बाँदरको उपद्रो रोक्न बजारमा कसैले पनि बाँदरलाई खानेकुरा नदिनु पर्ने, बजारको कुड़ादानीमा मैला नफ्याँक्ने अनुरोध गरेका छन्। उनले बाँदरले जंगलमा केही खानु नपाएर बजार पसेको हो र बजारमा पनि कसैले पनि खानेकुराहरू नदिएको खण्डमा जंगल फर्केर जान सक्ने सम्भावना हुन्छ भनी बताउँदै सबैजना जागरूक भए बाँदरको रगरगी रोक्न सकिने बताएका छन्।