कोलकाता: राज्यमा ८ जुलाईमा पञ्चायत चुनाव हुन गइरहेको छ, तर कुनै पनि राजनीतिक दलको ध्यान पर्यावरणमा छैन। यसबारेमा पर्यावरणविद्हरुले ग्रामीण बंगालमा पर्यावरणसँग सम्बन्धित धेरै समस्या भए पनि त्यसतर्फ ध्यान नदिएको बताउँछन्। पञ्चायत चुनावलाई लिएर पर्यावरणविद्हरुको मञ्च सबुज मञ्चले हालै घोषणापत्र जारी गरेको हो। यसले ग्रामीण बंगालका मुख्य वातावरणीय समस्याहरूबारे छलफल गरेको थियो। एक पर्यावरणविद्ले भने, ‘प्रदूषणका कारण ग्रामीण क्षेत्रका मानिसको औसत उमेर ६ वर्षले घट्दै गएको छ। करिब ९९ प्रतिशत गाउँमा फोहोर व्यवस्थापनको वैज्ञानिक प्रणाली नभएको र ५ वर्षभित्र वन क्षेत्र ७० वर्ग किलोमिटरमा झारिएको छ। विश्वको २६०० क्षेत्रहरू मध्ये जलवायु ढाँचाको हिसाबले पश्चिम बंगाल ६०औं स्थानमा छ जसमा सुन्दरवन सबैभन्दा बढी प्रभावित छ। तर, पञ्चायत चुनावमा यी विषयमा छलफल भएन। धेरै पर्यावरणविद्ले यस सम्बन्धमा राज्य चुनाव आयोग र प्रदूषण नियन्त्रण बोर्डलाई पत्र लेखेर चुनावी अभियानमा पर्यावरणको नियम पालना गर्न आग्रह गरेका छन्। सबुज मञ्चका सचिव नव दत्तले भने, ‘ग्रामीण बङ्गालमा वातावरणीय समस्यालाई उजागर गर्न हरित घोषणापत्र जारी गरिएको होl’ नवनिर्वाचित पञ्चायतले यी वातावरणीय मुद्दाहरूमा कदम चाल्ने अपेक्षा गरिएको छ। राज्यभरका ५० हरित संगठनहरू सबुज मञ्चका सदस्य छन्। संगठनका सदस्यहरूले छिट्टै राजनीतिक दलहरूलाई वातावरणीय मुद्दाहरूमा पनि ध्यान दिन आग्रह गर्नेछन्।