पहाड़को सत्तारूढ़ दलले सांसदको लोकप्रियता देखेर हतास भएर यस प्रकारको हमला गरेको हो: सोनाम लामा
खरसाङ: सांसद राजु विष्टमाथि हिजो पोख्रेबुङमा हमला भएको भन्दै यसको विरोधमा भारतीय जनता पार्टीले आज खरसाङमा पोस्टरिङ गरेको छ भने उक्त घटना विषयमा खण्ड विकास अधिकारीलाई पनि ज्ञापन दिने भएको छ। भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाको सचिव सोनाम लामाको नेतृत्वमा आज खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गरिएको छ। उक्त पोष्टरिङमा ‘बंगाल र पहाड़मा गणतन्त्रको हत्या भईसकेको’, हामी अविलम्ब ३५६ धारा अनुरूप राष्ट्रपति शासन लागु गर्ने मांग गर्छौं’, ‘दोषीहरूलाई पुलिसले अविलम्ब कार्वाही गर्नुपर्छ’, भगोप्रमो सांसदको प्राण हत्या गर्ने षड़यन्त्रमा लागेको पोख्रेबुङको घटनाले प्रमाण छ’, जस्ता कुराहरू पोस्टरिङमा लेखिएका छन्। पोख्रेबुङको घटनाको विरोध जनाउँदै खरसाङका विभिन्न क्षेत्रहरूमा भाजपाले पोस्टरिङ गरेको छ। उक्त पोष्टरिङ कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाको सचिव सोनाम लामाले पोख्रेबुङमा भएको घटनाको हामी सबै गठबन्धन दलहरू मिलेर घोर विरोध जनाउँदै खरसाङमा पोष्टरिङमा गरिएको जानकारी गराएका छन्। उनले हिजो पोख्रेबुङमा हाम्रो सांसद राजु विष्टमाथि हमला भएकोले हामी सांसदलाई घर घरमा चुनाव प्रचारमा लगेर जानु असुविधा भईसकेको पनि बताएका छन्।

लामाले पहाड़को सत्तारूढ़ दलले सांसदको लोकप्रियता देखेर हतास भएर यस प्रकारको हमला गरेको भन्दै हामी यस प्रकारको घटनाको घोर विरोध गर्छौं भनी बताएका छन्। उनले यसको विरोधमा चुनाव आयुक्त अफिसर खण्ड विकास अधिकारीलाई भेटेर ज्ञापन दिनु गएको पनि बताएका छन्।