मुख्यमन्त्रीले राज्यवासीहरूलाई असार पन्ध्रको दिए शुभकामना

IMG-20230630-WA0413.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले असार पन्ध्रको शुभ अवसरमा सिक्किमका जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले सबैको आरोग्य, सुख, शान्ति अनि समृद्धिको मङ्गलमय कामना पनि गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत राज्यवासीहरूलाई असार पन्ध्रको शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘यो पर्वसँगै धान रोप्ने मौसम सुरु भएको छ। यो पर्वले हाम्रो परम्परा, हाम्रो चिनारी, हाम्रो परिश्रम अनि हाम्रो विरासतको ब्याख्या गरेको हुन्छ भने विशेष ग्रामीण क्षेत्रमा यो पर्व धुमधामसँग मनाइन्छ।’

उनले अघि भनेका छन्, ‘हाम्रा रहन सहन र खान पान पनि समय अनुसार परिवर्तन हुने गर्छन। “मानो खाएर मुरी फलाउने“ समय हो यो। असार पन्ध्रमा दही चिउरा, पुस पन्ध्रमा खिचडी, साउन पन्ध्रमा खीर आदि खाने बडो रोमान्चक प्रचलन छ हाम्रो।’ उनले भनेका छन्, ‘यस अवसरमा परिश्रमी किसानहरूले धान रोप्ने क्रममा नाचगान गर्दै रमाइलो गर्छन् भने आपसमा सहयोग गर्नु आफ्नो दायित्व सम्झन्छन्। हामी पहाडी भेकका कृषिप्रेमि जनमानसका निम्ति यो अतिनै महत्त्वपूर्ण चाड हो।’ मुख्यमन्त्रीले भनेका छन्, ‘हाम्रा युवा जमातलाई यो परम्पराको महत्व अनि विशेषतासंगै हाम्रा पुर्खाको अथक परिश्रम अनि पराक्रमबारे जानकारी भएमात्र हाम्रो विगतको कार्य प्रविधि, अथक परिश्रम अनि परम्परासंग परिचित रहनेछन्। आजको दिन किसानले एकता अनि समग्रतामा खेतमा धान रोप्छन्, गाउँछन् र रमाउँछन्, यो पर्व एकता, सामुहिकता अनि सद्भावनाको प्रतिक पनि हो।’

उनले हाम्रा भुक्तभोगी पिता-पुर्खा जसले यिनै दिनचर्याको लगनशीलताका साथ पालन गरेर आफ्ना सन्ततिका हर आवश्यकता पूर्ण गर्ने प्रयास गरेका थिए भन्दै उहाँहरुप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्। उनले हाम्रा भावी पींढीलाई यो विषयमा पूर्ण जानकारी दिने दायित्व हाम्रो भएको हुँदा यसमा हामी सबै सचेत रही हाम्रो परम्परा, हाम्रो चिनारीको संरक्षण अनि सम्बर्द्धनमा पनि समर्पित रहन सबैमा आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement