एकाडेमीले सिक्किमलाई देशमा मात्र नभएर विदेशमा पनि चिनाउने छ: मुख्यमन्त्री

SkmIcon.png

गान्तोकः दक्षिण सिक्किमको किचुडुम्रामा तरूणदीप राई आर्चरी एकाडेमीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यो एकाडेमीले सिक्किमलाई देशमा मात्र नभएर विदेशमा पनि चिनाउने छ भनी बताए। मुख्यमन्त्री तामाङले अन्तरराष्ट्रिय आर्चर तरुणदीप राई लगायत देशका उत्कृष्ट धनुधरहरूको उपस्थितिमा आज एकाडेमी स्थापनाको निम्ति शिलान्यास गरे। तरुणदीप राईले धेरै त्याग, वलिदान र मेहनत गरेर अन्तरराष्ट्रिय स्तरमा राज्य अनि देशको नाम रोशन गरेको बताए। उनले दस वर्षअघि यदि राईको एकाडेमी खोल्ने सपनालाई पूर्व सरकारले स्वीकृति प्रदान गरेको भए आज धेरै खेलाडीहरू जन्मिसकेका हुने थिए भनी बताए। तर पूर्व सरकारले किन उनको एकाडेमी खोल्ने प्रस्तावलाई स्वीकार गरेन भनी उनले आश्चर्य व्यक्त गरे।

मुख्यमन्त्रीले एसकेएम पार्टीलाई २०२४ को चुनाउ जित्न कठीन नरहेको पनि दाबी गरे। उनले सिक्किममा कुनै पनि समय चुनाउ भएको खण्डमा एसकेएमले ३२ सीट जित्ने ठोकुवा गरे। आज शिलान्यास भएको परियोजना दुई वर्षपछि एसकेएम पार्टीको सरकारले नै उद्घाटन गर्ने पनि उनले ठोकवा गरे। उनले वर्तमानमा उनी पोकलोक कामराङको विधायक रहेको र आगामी चुनाउमा विधायक बनाउने कि नबनाउने त्यो स्थानीयहरूको हातमा रहेको बताए। उनले भानु जयन्ती कार्यक्रमपछि चार दिनको निम्ति पोकलोक कामराङ निर्वाचन क्षेत्रका जनतासँग भेट गर्ने बताए।

उनले खेलाडीहरूलाई प्रोत्साहित गर्नको निम्ति आफु स्वयम् नै उपस्थित हुने गरेको बताए। सरकारको तर्फबाट हुने सबै प्रकारको काम गर्ने उनले आश्वासन दिए। तर सरकारको सहयोग मात्रले केही नहुने भएकाले स्वयम्ले पनि मेहनत गरेर अघि बढनु पर्ने उनले सुझाउ दिए। एउटी नाबालिग नानीको नृत्यलाई लिएर उत्पन्न भएको विवादमाथि पनि उनले प्रतिक्रिया गरे। उनले नानीको नृत्यमाथि हाँस्ने विपक्षी दलका नेताहरूको मानसिकतालाई बुझ्नु पर्ने आग्रह गरे। कार्यक्रमलाई खेल मन्त्री केएन लेप्चा, तरुणदीप राईले पनि सम्बोधन गरेका थिए। आजको कार्यक्रममा उपस्थित देशका उत्कृष्ट धनुधरहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement