कालचिनी। अलिपुरद्वार सहरमा मोटरबाइक र स्कूटीमा सवार भएर सहरको गल्ली औ सुनसान क्षेत्रमा डुलिहिँड़ने दुईजना लुटाहारलाई सोमबार राती अलिपुरद्वार थाना अधीनस्थका पुलिसको एन्टी क्राइम टीमले पक्राउ गर्न सफल भएको थियो। आज ती दुवै लुटाहारलाई अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि रिमान्डमा लिएको पुलिसले बताएको छ।
अलिपुरद्वार थानाको एसडीपीओ देवाशीष चक्रवर्तीले बारम्बार सहरमा स्कूटीधारी लुटाहार ग्याङले महिलाहरुको गरगहना र मोबाइल थुत्ने औ पैसा लुटलाट गर्ने उजुरी पुलिसकहाँ आईरहेकोले एन्टी क्राइम टीम यसको पछाड़ी लागिपरेको र सोमबार पुलिसले अन्ततः अलिपुरद्वार सहरको अरविन्दनगर निवासी शुभदीप गुप्ता २६ र चेचाखाता निवासी शुभङ्कर पाल २६ लाई स्कूटी समेत पक्राउ गर्दा उनीहरुबाट ४ वटा मोबाइल ह्यान्डसेट बरामद गरिएको र दुईवटा सुन जस्तै देखिने सिक्री पनि बरामद गरिएको बताएको छ। दुवैलाई सोधखोज गरिने र यसमा को को जड़ित छन यसबारे अनुसन्धान गरिने पुलिस सुत्रले जनाएका छन्।










