झारखण्डबाट सिक्किम शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरूको बस पल्टिॅंदा लगभग २६ जना घाइते

गान्तोक। झारखण्डबाट शैक्षिक भ्रमणमा सिक्किम आएका विद्यार्थीहरूको एउटा बस रानीपुल छेउ सात माइलमा बिहान दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेर धेरै विद्यार्थीहरू घाइते भएका छन् भने केही विद्यार्थीहरूलाई गम्भीर चोट लागेको छ। विद्यार्थीहरू राँचीको सन्त जेभियर्स महाविद्यालयबाट आएका थिए। बसको ब्रेक-फेल हुँदा दुर्घटना भएको बताइएको छ। झारखण्डको राजधानी राँचीबाट शैक्षिक भ्रमणमा सिक्किम आएका विद्यार्थीहरूको एउटा बस राष्ट्रिय राजमार्ग १० अन्तर्गत रानीपुल छेउ सात माइलमा मंगलवार बिहान दुर्घटनाग्रस्त भयो। विद्यार्थीहरू आज सिलगढ़ी गइरहेका थिए। उनीहरू कूल तीनवटा बसमा यात्रा गरिरहेका थिए भने एउटा बस पल्टिॅंदा लगभग २६ जना घाइते भए। दुर्घटनामा बस चालक पनि घाइते भएका छन्।

बस पल्टिएपछि राष्ट्रिय राजमार्गमा वाहनहरूको आवागमन बाधित बन्यो। स्थानीय मानिसहरू र पुलिसकर्मीहरूको सहयोगमा घाइते विद्यार्थीहरूलाई तादोङस्थित सीआरएच मणिपालमा लगियो। यस दुर्घटनामा कसैको ज्यानहानि नभए तापनि अधिकांश विद्यार्थीहरूलाई चोट लागेको छ। अस्पतालमा विद्यार्थीहरूको उपचार चलिरहेको छ। घाइते विद्यार्थीहरूको स्थितिबारे जानकारी लिन अस्पताल आएका मुख्यमन्त्रीको राजनीतिक सचिव जेकब खालिङले दुर्घटनाबारे जानकारी पाउनसाथ मुख्यमन्त्री प्रेमसिंह तामाङले आफुलाई मणिपाल अस्पताल पठाएको बताए। उनले अस्पतालमा विद्यार्थीहरूको उपचार चलिरहेको र उपचारमा लाग्ने सबै खर्च राज्य सरकारले वहन गर्ने जानकारी गराए। यसैगरी, रहल दुईवटा बसका विद्यार्थीहरूलाई सुरक्षित एनजेपीसम्म पुऱ्याउने व्यवस्था पनि राज्य सरकारले गरिरहेको उनले बताए।

मणिपाल अस्पतालका चिकित्सा अधीक्षक डा. योगेश वर्माले अहिले २६ जना विद्यार्थी उपचाराधीन रहेको जानकारी दिए। उनले अधिकांश विद्यार्थीहरूको स्थिति सामान्य रहेको र केही विद्यार्थीहरूलाई गम्भीर चोट लागेको छ भनी बताए। ती विद्यार्थीहरू मध्ये कसैको हात र कसैको खुट्टा भॉंचिएको छ। बस चालकलाई पनि टाउकोमा चोट लागेको छ। यद्यपि, कसैलाई पनि ज्यानको खतरा भने छैन। सिक्किम पुलिसका एडीजीपी अक्षय सचदेवले विद्यार्थीहरूको तीनवटा बस फर्किरहेको समय एउटा बस दुर्घटनाग्रस्त भएको बताए। बसहरू सिलगढ़ीबाट ल्याइएको थियो। उनले प्रारम्भिक जानकारी अनुसार बस ब्रेक-फेस हुँदा दुर्घटना भएको हो भन्ने जान्नमा आएको बताए। उनले घाइते विद्यार्थीहरूलाई आगामी २४ घण्टा निगरानीमा राखिने र त्यसपछि भावी निर्णय लिइने बताए। उनले रहल दुईवटा बसका विद्यार्थीहरूले फर्किने इच्छा व्यक्त गरिरहेको हुँदा उनीहरूलाई एनजेपीसम्म सुरक्षित पुऱ्याउन व्यवस्था गरिने बताए। उनले दुईवटा बसमा पुलिस अधिकारीहरू तैनात गरेर विद्यार्थीहरूलाई एनजेपी पुऱ्याइने बताए। विद्यार्थीहरूको आज राति ९ बजी ट्रेन रहेको छ। अर्कोतिर, राष्ट्रिय राजमार्ग १० अन्तर्गत विभिन्न ठाउॅंहरूमा आज बिहानदेखि पैह्रोका कारण वाहनहरूको आवागमन बाधित बनिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement