गान्तोक: राज्यको ग्रामीण विकास संस्थान र ग्रामीण विकास विभागले आज पाक्योङमा ग्रामीण विकास योजनाहरूबारे भिमुखी कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमले पञ्चायतहरूलाई विभिन्न ग्रामीण विकास योजनाहरूसँग परिचित गराउने र प्रभावकारी रूपमा कार्यान्वयन गर्न उद्देश्य राखेको थियो। अतिरिक्त जिल्लापाल रबिन सेवाले कार्यक्रमको प्रारम्भ गर्दै अभिमुखीकरणमा सिकेका कुरालाई उपयोग गर्ने महत्त्वमा जोड दिए। उनले पञ्चायतहरूलाई लगनशीलताका साथ काम गर्न र पूर्ण प्रतिबद्धता विस्तार गर्न प्रोत्साहित गर्दै नमूना ग्राम पञ्चायत इकाई स्थापना गर्न पहल गर्न आग्रह गरे। उनले पञ्चायतहरूलाई पिछाडिएका समुदायहरूलाई सहयोग गर्न र पाक्योङ जिल्लाको सुधारका लागि सामूहिक रूपमा काम गर्न निर्देशन दिए। कार्यक्रमको क्रममा, अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङले सिक्किम सब्जेक्ट र पहिचान प्रमाणपत्रको बारेमा संवेदनशीलतासित काम गर्ने आग्रह गरिन्। ग्राम पञ्चायतहरूको सिफारिस एउटा महत्त्वपूर्ण कागजात भएकोले जसको आधारमा आवासीय प्रमाण पत्र जारी गरिने भएकाले यसमाथि गम्भीरतासित काम गर्ने आपील गरिन्। निकट भविष्यमा जिल्ला प्रशासनले पाक्योङ जिल्लाका ग्राम पञ्चायतहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिइन्। विभागका निर्देशक विशाल मुखियाले आफ्नो सम्बोधनमा पञ्चायतहरूका लागि अभिमुखीकरण कार्यक्रमको महत्त्व जरुरी भएको उल्लेख गर्दै यसले उनीहरूको क्षमता अभिवृद्धि गर्ने जोड दिए। पञ्चायतहरूलाई सरकार र विभागहरूसँग सक्रिय रूपमा संलग्न हुन आग्रह गरे। उनले पञ्चायत र जनताबीचको समन्वयको महत्वमा जोड दिँदै जनतालाई समावेश गर्नु नै सफलताको मुख्य आधार रहेको बताए। उनले युवाहरूको खस्किँदै गएको मानसिक स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पञ्चायतहरूलाई उनीहरूको कल्याण र समग्र सामुदायिक उन्नतिमा योगदान पुऱ्याउने विभिन्न विकास गतिविधिहरूमा सामेल गराउने बताए। कार्यक्रममा कृषि तथा बागवानी विभागका उपनिर्देशक रेबिका गुरुङले विभिन्न योजना र पहलकाबारेमा बताइन्। कार्यक्रममा कृषि विभागअन्तर्गत (प्रधानमन्त्री कृषि सिंचाई योजना, प्रधानमन्त्री किसान सम्मान निधि), प्रधानमन्त्री फसलअन्तर्गत विभिन्न योजना र कार्यक्रमहरूबारे जानकारी गराएको थियो। प्रत्येक योजनाको उद्देश्य, कार्यान्वयन र लाभहरूको बारेमा जानकारी गराउन रहेको बताइएको थियो।