शिमला: हिमाचल प्रदेशमा मनसूनको भीषण वर्षाले सामान्य जनजीवन प्रभावित भएको छ। राज्यका कतिपय भागहरूमा पैह्रो गएकोले यातायात, विद्युत एवं पिउने पानीको आपूर्ति पूर्णरूपले प्रभावित भएको छ। यस अवधि वर्षाजनित दुर्घटनाहरूमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। यसबीच मौसम विभागले मैदानी अनि मध्यपार्वतीय क्षेत्रहरूमा आउँदो चार दिनसम्म भारी वर्षाको यल्लो सतर्कता जारी गरेको छ।
हिमाचल प्रदेशमा मनसूनले गत २४ जूनको दिन कदम राखेको थियो। त्यसपछि देखि नै राज्यमा निरन्तर पानी परिरहेको छ। राज्य आपदा प्रबन्धन प्राधिकरणको रिपोर्टअनुसार मनसूनको पाँच दिनमा भएको भारी वर्षाले हिमाचलमा २१९ करोड़ रुपियाँको सम्पत्तिको क्षति पुऱ्याएको छ। वर्षाले प्रदेशमा पिउने पानी, सिंचाई परियोजना, सड़क, बिजुली आदिलाई व्यापक क्षति पुऱ्याएको छ। रिपोर्टअनुसार वर्षाको कारणले सबैभन्दा अधिक एक सय करोड़ रुपियाँको नोक्सान जल शक्ति विभागलाई भएको छ। जल शक्ति विभागका १६३५ परियोजनाहरू क्षतिग्रस्त भएका छन् जसमा १३१८ पेयजल अनि २८४ सिंचाई परियोजनाहरू सामेल छन्। यीमध्ये १२४९ पेयजल परियोजनाहरूलाई बहाल गरिएको छ।
पानीले लोकनिर्माण विभागलाई ९० करोड़ रुपियाँको नोक्सान पुऱ्याएको छ। प्राधिकरणअनुसार बिहीवार पैह्रोको कारणले राज्यमा २८ सड़कहरू अवरूद्ध छन् भने ७२ ट्रान्सफर्मर खराब भएर बिजुली ठप्प भएको छ। भीषण वर्षाको कारणले पाँच दिनमा घटित विभिन्न घटनाहरूमा १९ जना मानिसहरूको ज्यान गएको छ। वर्षाकै कारणले भएका दुर्घटनाहरूमा तीनजना बेपत्ता भएका छन्। यसका साथै पैह्रोको कारणले ३४ जना मानिसहरू घाइते भएका छन्। -हिस