विम्बल्डनः कार्लोस अल्काराज र इगा स्वियातेकलाई शीर्ष वरीयता

IMG-20230629-WA0182.jpg

२९ जूनः विम्बल्डन टेनिस च्याम्पियनशीपमा २३ पल्टका ग्राण्ड स्ल्याम तथा गत च्याम्पियन सर्बियाका नोवाक जोकोविच नभएर स्पेनका २० वर्षीय युवा खेलाड़ी कार्लोस अल्काराजलाई शीर्ष वरीयता प्रदान गरिएको छ। पुरुष एकलमा जोकोविचलाई दोस्रो वरीयता दिइएको छ। सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको आयोजक अल ईंग्ल्याण्ड क्लबले यसपाली पुरुषहरूमा पेशादार टेनिस संघ (एटीपी) र महिलाहरूमा महिला टेनिस संघ (डब्ल्यूटीए)-को ऱ्यांकिंगको आधारमा वरीयता दिएको छ। यसको आधारमा पुरुष एकलमा अल्काराज अनि महिला एकलमा चारपल्टकी ग्राण्ड स्ल्याम विजेता २२ वर्षीय पोल्याण्डकी इगा स्वियातेकलाई शीर्ष वरीयता हासिल भएको छ।
पेरिसमा ११ जूनमा फ्रेञ्च ओपनको रूपमा रेकर्ड २३औं ग्राण्ड स्ल्याम खिताब जितेपछि जोकोविचले कुनै टुर्नामेण्टमा हिस्सा लिएका छैनन्। यसबीच अल्काराजले चाहिँ क्वीन्स क्लब टेनिस टुर्नामेण्टमा खिताब जितेर शीर्ष ऱ्यांकिंग हासिल गरे। उनले सोमवार जोकोविचलाई शीर्ष ऱ्यांकिंगबाट हटाए।
विम्बल्डनका आयोजकहरूले यसपाली रुस र बेलारुसका खेलाड़ीहरूलाई खेल्ने अनुमति दिएका छन्। यसैकारण रुसका दानिल मेदवेदेवलाई पुरुष एकलमा तेस्रो अनि बेलारुसकी आर्यना सबालेंकालाई महिला एकलमा दोस्रो वरीयता दिइएको छ। एकल म्याचहरूको ड्र शुक्रवार निकालिनेछ जबकि टुर्नामेण्ट सोमवार (३ जुलाई)-देखि शुरु हुनेछ। दुईपल्टका च्याम्पियन तथा विश्वका ३९औं नम्बरका खेलाड़ी ब्रिटेनका एण्डी मर्रेलाई कुनै वरीयता दिइएन। यसअघि २००२-देखि २०१९-सम्म अल ईंग्ल्याण्ड क्लबले विम्बल्डन र अन्य ग्रास कोर्ट टुर्नामेण्टहरूमा प्रदर्शनको आधारमा खेलाड़ीहरूलाई वरीयता प्रदान गर्थ्यो। त्यसपछि चाहिँ आयोजकहरूले एटीपी र डब्ल्यूटीए ऱ्यांकिंगलाई प्राथमिकता दिन थाले। महिलाहरूमा गत सालकी च्याम्पियन कजाखस्तानकी एलीना रायबाकिनालाई तेस्रो वरीयता दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement