अहमदाबाद: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भारतमा हुने एकदिवसीय विश्वकपको तालिका सार्वजनिक गरेसँगै अक्टोबर १५ मा भारत–पाकिस्तान खेलको दिनदेखि होटलको भाडा आकाशिन थालेको छ, भने केही होटलले दश गुणा बढाएको छ। विभिन्न होटल बुकिङ वेबसाइटहरूमा देखाइएका मूल्यहरूले अक्टोबर १५ मा नरेन्द्र मोदी स्टेडियममा हुने भारत-पाकिस्तान खेलको अभूतपूर्व माग हुने देखाउँछ।
होटलको कोठाको भाडा झण्डै दश गुणा बढेको छ भने कतिपय होटलले त्यो दिन एक लाख रूपियाँ मागेका छन्। धेरै होटल कोठा पहिले नै बुक गरिएको छ। साधारणतया लक्जरी होटलमा एक दिनको भाडा पाँचदेखि आठ हजार रहेकोमा १५ अक्टोबर गते बढेर ४० हजारदेखि एक लाख रुपियाँ पुगेको छ। ‘बुकिङ डट कम’का अनुसार २ जुलाईमा आईटीसी वेलकम होटलको दर दिनको ५,६९९ रुपियाँ छ भने अक्टोबर १५ मा ७१,९९९ रूपियाँ छ।
रेनेसान्स अहमदाबाद होटलको हालको भाडा प्रति दिन आठ हजार रूपियाँ छ, जुन १५ अक्टोबरमा ९० हजार ६७९ रूपियाँ रहेको छ। त्यसैगरी एसजी राजमार्गमा रहेको प्राइड प्लाजा होटलको भाडा सो दिनको ३६ हजार ८० रूपियाँ छ। साबरमती रिभरफ्रन्टमा रहेको कामा होटलको भाडा आगामी आइतबार तीन हजार रूपियाँ भए पनि असोज १५ गते २७ हजार २ सय ३३ रूपियाँ हुनेछ। आईटीसी नर्मदा, कोर्टयार्ड बाई म्यारियट, हयात र ताज स्काइलाइन जस्ता पाँचतारे होटलहरूमा त्यो दिनका लागि कोठाहरू उपलब्ध छैनन्। गुजरात होटल्स एण्ड रेष्टुरेन्ट्स एसोसिएसनका प्रवक्ता अभिजित देशमुखले भने, ‘यदि होटल व्यवसायीहरूले निश्चित अवधिमा माग धेरै बढ्दै गएको महसुस गरे भने उनीहरूले कमाउनको लागि सोच्नेछन् किनभने उनीहरूलाई थाहा छ, बुकिङहरू पनि भरिपूर्ण छन्। माग घटेसँगै मूल्य पनि घट्छl’