सिलगढी : विषाक्त च्याउ खाँदा सोमबार एक बालकको मृत्यु भएको छ। एकै परिवारका थप तीन जना बिरामी छन्। बुधबार सिलगढी महकुमा परिषदकी सहायक अध्यक्ष रोमा रेश्मी एक्काले मृतकका परिवारलाई भेटेकी थिइन्। घटना नक्सलबारी थाना क्षेत्र अन्तर्गत हथिगिसा ग्राम पञ्चायतको हरसिङ जोतमा भएको हो। मृत्यु हुनेको नाम कृष लकडा (९) हो। अन्य तीनमा कुलदीप लाक्रा (७), अल्मी लाक्रा (२८) र अमृता लाक्रा (३३) छन्। चारैजना एकै परिवारका सदस्य हुन्। परिवारले शनिबार एक फेरीवालाबाट च्याउ किनेका थिए। त्यो खाएपछि राति परिवारका चारजना बिरामी परेका थिए। बान्ता, पखाला, पेट दुख्ने, ज्वरो आउन थाल्यो। उनीहरूलाई सोही दिन नक्सलबारी ग्रामीण अस्पतालमा ल्याइएपछि डाक्टरले चारैजनालाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा रिफर गरेका थिए। सोही परिवारका नौ वर्षीय बालक कृष लकडाको सोमबार साँझ मृत्यु भएको थियो। बाँकी तीन जना अझै उत्तर बंगाल मेडिकलमा भर्ना छन्। बुधबार सहायक सभामुखले मृतकका परिवारलाई भेटेर सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।