गान्तोक: एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नाललाई पार्टीको प्रवक्ता पदबाट निकाल्नु पर्ने अखिल सिक्किम अनुसूचित जातिका पूर्व अध्यक्ष शेखर सेवाले माग गरेका छन्। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सेवाले उक्त मन्तव्य प्रकट गरेका हुन्। दर्नालले नौमति बाजा धरोहर केन्द्र स्थापनालाई लिएर दिएको वक्त्व्य अतिनै निन्दनीय रहेको बताए। उनले शीघ्र सम्पूर्ण नेपाली समुदायसँग माफी माग्नु पर्ने चेताउनी दिएका छन्। पार्टीको प्रवक्ता भएपछि अध्ययन गरेर मात्र बोल्नु पर्ने हुन्छ तर उनले अध्ययनबिहिन बोल्दा आज सम्पूर्ण अनुसूचित जातिको मान मर्यादामाथि चोट पुगेको बताए। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हालै पश्चिम जिल्लाको भ्रमणको क्रममा नौमति बाजा धरोहर केन्द्रको शिलान्यास गरेका थिए। उक्त विषयमाथि बोल्दै दर्नालले नोमति बाजा केवल दमाई समुदायको मात्र रहेको बताएपछि विवाद शुरू भएको हो। दर्नाले अनुसूचित जातिलाई साथै संस्थालाई अहिलेसम्म कुनै प्रकारको योगदान नदिएको पनि उनले दावी गरे। यसरी नै उनले प्रसङ्ग फेर्दै हाल सामाजिक सञ्जालमा गलत प्रकारले एउटा भीडियो मार्फत भाइरल बनेकी बालिकाबारे बोल्दै यस विषयमा एसडीएफ पार्टीले माफी माग्नु पर्ने चेताउनी दिएको छ। यदि एसडीएफ पार्टीका नेताहरूले माफी नमागे अनुसूचित जाति सडकमा उत्रिने पनि घोषणा गरे। जस- जसले उक्त भीडियो साझा गरेका छन्, उनीहरूलाई प्रशासनले कडारूपमा कार्वाही गरिनु पर्ने माग गरेका छन्।