काठमाडौं: नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ठूला भ्रष्टाचार र अपराधका फाइलहरु धमाधम खोलिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि प्रचण्ड सरकारले काठमाडौंको बालुवाटारमा १३ अर्ब नेपाली रुपियाँ बराबरको ७.३ हेक्टर जमिन हडपिएको प्रकरणको फाइल खोलेको हो। नेपालको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकैको जमिन हडपिएको प्रकरणमा नेपालका चर्चित व्यवसायी मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह मंगलबार पक्रा परेका छन्। यो प्रकरणमा २०१९ मा १७५ जना माथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर भइसकेको छ। जसमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार पनि छन्। उनी नेपाली कांग्रेसका नेता पनि हुन्।
बालुवाटारको जमिन हडपिएको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल पनि जोडिएका थिए। पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा पनि जमिन भेटिएको थियो। तर, उनीहरुमाथि त्यतिबेला मुद्दा दायर भएन। जमिन हडप्न जमिन नै घूसवापत् दिइएको घटना २०१८ मा सर्वेन्द्र खनाल नेपाल प्रहरीका प्रमुख हुँदा अनुसन्धान भएको थियो। त्यसपछि बेला बेलामा यसको फाइल खुल्दै आएको छ। प्रचण्ड नेतृत्वको सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई निर्देशन दिएर फाइल खोल्न लगाएको छ। यो प्रकरणमा कतिपय शक्तिशाली व्यक्तिहरुले उन्मुक्ति पाएको विषय उठिरहँदा फेरि फाइल खुल्नुले तरंग ल्याएको छ।
प्रचण्ड सरकारले भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ। नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको स्वर्ण जलहरीमा हिनामिना भएको उजूरी परेपछि छानविन बढाइसकेको छ। -हिस