खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारी गोदामधुरा निवासी तथा निर्दलीय प्रार्थी सुरज तामाङले यसै क्षेत्रकी गठबन्धन दलकी प्रार्थी कल्पना बम्जनसँग मञ्च साझा गर्ने भएका छन्। उनले आफ्नो उम्मेद्वारितालाई फिर्ता लिँदै चुनाउमा कल्पना बम्जनलाई सहयोग गर्ने बताए। आज स्थानीय गठबन्धन दलका प्रतिनिधिहरू लगायत कल्पना बम्जनको उपस्थितिमा उनले यो निर्णय लिएका हुन्। तामाङको यस निर्णयलाई स्वागत जनाउँदै गठबन्धन दलका प्रतिनिधि अनि प्रार्थी कल्पना बम्जनले खदा लगाएर धन्यवाद दिए। यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यो निर्णय स्वयंको इच्छाद्वारा गरेको जनाए। उनले आफु चुनाउमा खडा हुनुको औचित्यबारे प्रकाश पार्दै आफ्नो गाउँको विकास तथा यहाँका युवाहरूको सठीक मार्गदर्शनको निम्ति उठेको जनाउँदै तर अब यो जिम्मेवार कल्पना बम्जनलाई दिएको जनाए। प्रार्थी कल्पना बम्जनले तिनलाई यसरी सहयोग प्रदान गरेकोमा सुरज तामाङलाई धन्यवाद दिँदै आफूले जितेर गएको खण्डमा साथमा मिलेर गाउँ अनि आफ्नो क्षेत्रको लागि कार्य गर्ने जनाइन्। तिनले आफ्नो क्षेत्रमा चुनावी प्रचार गठबन्धन दलका समर्थकहरूसँग मिलेर गरिरहेको जनाउँदै सबैको यसरी सहयोग पाएकोले तिनको जीत अझ निश्चित भएको जनाइन्। यता गठबन्धन दलको पक्षबाट बिरेन्द्र छेत्रीले सुरज तामाङको सहयोगले गठबन्धन दलको प्रार्थी कल्पना बम्जनले जित्ने पूर्ण निश्चित बनेको बताए। तिनले पञ्चायतमाथि जीटीएको हस्तक्षेप हुनु हुँदैन भन्दै पञ्चायत संवैधानिक व्यवस्था हो अनि जीटीए असंवैधानिक व्यवस्था हो भनी जनाए। छेत्रीले जीटीमा धेरै भ्रष्टाचार भएको दावी गर्दै त्यही भ्रष्टाचारको अन्त्य गर्न पहाडका सबै दल मिलेर पञ्चायत चुनाउमा खडा भएको जनाए।