खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर पङ्खाबारी-लङ्भ्यू-अम्बटे समष्टिभरि नै प्रचार-प्रसार तीब्र गतिले गरिरहेको जानकारी प्राप्त भएको छ। यस समष्टिको प्रचार-प्रसार सचिव जिनोद परियारले दिएको जानकारी अनुसार चुनाउ प्रचारमा कुनै पनि कमी नहोस् भन्ने हेतुले समष्टिको प्रत्येक क्षेत्रमा संयोजकहरूको नियुक्ति गरेको अवगत गराउँदै उनीहरूको नेतृत्वमा पार्टीका उम्मेद्वार अनि प्रतिनिधिहरूले घर दैलोमा गएर चुनावी प्रचार गरिरहेको जनाए। केही गाउँहरूमा पार्टीको टिकटप्रति पार्टी समर्थकहरू माझ देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नको उत्तरमा परियारले टिकट वितरण गर्दा जीटीए मनोनीत सभासद प्रणाम रसाइली लगायत अन्य पार्टी प्रतिनिधिहरूको सल्लाह, परामर्शमा नै पार्टीको हितलाई हेरेर टिकट वितरण गरिएको अवगत गराउँदै कतिपय ठाउँमा अवश्यनै मनमुटाव भएको छ भन्दै तर पार्टीको निर्णयलाई सर्वोपरि मानेर उनीहरूले पार्टी हितको निम्ति सघाउनुपर्ने थियो भनी जनाए। कसैले मन दुखाएर आफ्नै पार्टीको विरूद्धमा निर्दलीय प्रार्थी भएर चुनाउ लडे उनीहरूमाथि पार्टीले कार्वाही गर्न सक्ने अवगत पनि तिनले गरे। लङ्भ्यू क्षेत्रको सन्दर्भबारे जनाउँदै परियारले यस क्षेत्रबाट जुनसुकै चुनाउमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जितेको अवगत गराउँदै यसपालीपनि यहाँको सबै बुथमा पूर्ण बहुमत ल्याएर पार्टीको उम्मेदवारहरूले जित्ने दावी गरेका छन्। तिनले भने-जीटीए मुख्य कार्यापाल अनित थापाले लङ्भ्यूको निम्ति धेरै काम गरेका छन्। यहाँको साई मन्दिरदेखि बरबोटेसम्म पुग्ने जीर्ण अवस्थामा रहेको सडक मर्मति कार्यको थालनी गरिदिए भने हर घर जल योजनाको काम पनि यहाँ गुणस्तरीय ढङ्गमा सम्पन्न भइरहेछ। लङ्भ्यू चियाबारी बन्द भएको समयमा यहाँका श्रमिकहरूको चुल्हा जल्ने व्यवस्था उनले गरिदिए। त्यसैलाई हेरेर पनि लङ्भ्यूवासीले आजसम्म उनलाई साथ दिइरहेका छन् अनि यसपाली पनि म पूर्ण विश्वस्त छु। अवश्यनै लङ्भ्यूवासीले भागोप्रमोलाई पूर्ण बहुमत दिएर पठाउनेछ। परियारले यस समष्टिकी सभासद कल्पना प्रधान खुट्टामा भएको फ्रयाक्चरको कारण बेड रेस्टमा रहेको जनाउँदै अबको केही दिनभित्रमा उनको खुट्टाको प्लास्टर खोलेपछि चुनावी प्रचारको पनि समष्टि भ्रमणमा आउने जानकारी गराउँदै उनको उपस्थितिले पार्टी अनि उम्मेद्वारहरूलाई थप बल पुग्ने पनि जनाएका छन्।