गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा रहेका केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरीले आज सिङ्तामस्थित भाजपा प्रदेश कार्यालयमा पार्टी पदाधिकारीहरूसित बैठक गरे। बैठकमा प्रदेश अध्यक्ष एवं अप्पर बुर्तुकका विधायक डीआर थापा, पार्टी विधायक दलका नेता एनके सुब्बा, गान्तोकका विधायक वाईटी लेप्चा, उपाध्यक्ष अर्जुन राई, महासचिव भरत दुलाललगायत प्रदेश पदाधिकारीगण, कार्यकारिणी सदस्यगण साथै वरिष्ठ सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकको शुरूमा आज मध्यप्रदेशको राजधानी भूपालबाट देशभरिका कार्यकर्ताहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो कन्फरेन्समार्फत संवाद कार्यक्रममा उपस्थित सबैले सहभागिता जनाएका थिए। देशभरिका कार्यकर्ताहरूलाई उत्साहवर्द्धन गर्दै प्रधानमन्त्री मोदीले देशमा भाजपा मात्र एउटा यस्तो दल रहेको जसले देश अनि आम जनताको हितलाई शीरोपर गरेर विगत ९ वर्षदेखि सेवाभावमा सरकार चलाइरहेको बताए। उनले भोपालमा प्रत्यक्ष रूपमा उपस्थित तथा देशभरिका लाखौं बुथहरुबाट जोडिएका कार्यकर्ताहरूलाई सेवाभावबाट संगठनमा जन-जनलाई जोड्न प्रेरित गर्दै भाजपा कार्यकर्ताको लक्ष्य समाज र देश निर्माणप्रति कटिबद्ध रहनुपर्ने बताए। उनले देशभरिका परिवारवादी पार्टीहरूको नाम गन्ती गर्दै सबै दलहरू आ-आफ्ना छोरा-छोरीको भविष्य सुरक्षित गर्न राजनीतिमा रहेको बताए। भिडियो कन्फरेन्सको समापनपछि केन्द्रिय मन्त्री साथै प्रदेश पदाधिकारीहरूबीच विभिन्न विकासीय तथा सिक्किम हितका मुद्दाहरूमा चर्चा परिचर्चा भयो। यस क्रममा भाजपा प्रदेश अध्यक्ष डीआर थापाले हालै संसदमा पारित भएको वित्त ऐनमा सिक्किमेको परिभाषा विस्तार भएको अनि दुईवटा नयाँ वर्गलाई समावेश गरिएकोले सिक्किमेको सुरक्षाकवच धारा ३७१एफ तरलीकरण भएको विषयमा वित्त राज्यमन्त्रीको ध्यानाकर्षण गराउँदै पार्टीको तर्फबाट यसबारे एउटा ज्ञापन सुम्पिइएको छ। आफ्नो सम्बोधनको क्रममा केन्द्रिय राज्यमन्त्रीले पार्टीद्वारा चढ़ाइएको ज्ञापनमाथि सकारात्मक प्रतिक्रिया दिँदै सर्वोच्चको फसेलाको आधारमा सो दुईवटा वर्ग वित्त ऐनमा समावेश भएको स्पष्ट गरे।

उनले उक्त दुईवटा वर्गलाई केवल आयकर छुटको निम्ति मात्र उक्त परिभाषाभित्र समावेश गरिएको र अन्यमा त्यो लागू नहुने बताउँदै यद्यपि भाजपा सदैव सिक्किम र सिक्किमेको हित रक्षाहेतु प्रतिबद्ध रहेकोले यो मुद्दाको यथोचित समाधानको निम्ति पार्टीस्तरमा तथा गृहमन्त्रीसमक्ष पनि विषयलाई राख्ने आश्वासन दिए। आजको कार्यक्रमबीच विभिन्न अवकाशप्राप्त सरकारी अधिकृत साथै युवाहरूले भारतीय जनता पार्टीमा प्रवेश लिएका छन् जसमा अम्बा निवासी सहकारी विभागका अवकाशप्राप्त अधिकृत मातृका खतिवड़ा, जोरथाङ निवासी प्रेम मुखिया साथै नाम्ची तथा सोरेङ जिल्लाबाट २० भन्दा अधिक परिवार सामेल छन्।