कोलकाताबाट फ्याँकिएका केही हड्डीको बदलामा गोर्खाहरूका आकांक्षालाई बेचेकाहरूले आज क्षेत्रवादको कुरा गरिरहेका छन्: सांसद राजु विष्ट

IMG-20230627-WA0344.jpg

दार्जिलिङ: बितेका केही दिनदेखि अनित थापाले ‘क्षेत्रवाद’ माथि निकै बोल्दैछन्। योभन्दा ठूलो पाखण्ड अरू केही हुन सक्दैन कि कोलकाताबाट फ्याँकिएका केही हड्डीको बदलामा गोर्खाहरूका आकांक्षालाई बेचेकाहरूले आज क्षेत्रवादको कुरा गरिरहेका छन् भनी दार्जिलिङका भाजपा सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले गोर्खाल्याण्डको समर्थनमा समग्र दार्जीलिङ पहाड़, तराई अनि डुवर्स बन्द भएको बेलामा यी बिकुवा नेता भनौदाहरूले पुलिस-प्रशासनसँग मिलेर दैलो-दैलोमा गएर दोकानेहरूलाई उनीहरूको दोकान जबरजस्ती खोल्न लगाएका थिए। ट्याक्सी मालिकहरूलाई उनीहरूको ट्याक्सी चलाउनका लागि बाध्य गरेका थिए। सबै कार्यालय, स्कूल अनि कलेजहरूलाई अनिवार्य रूपमा खोल्नैपर्छ भनी धम्काएका थिए। उनीहरूले यी सबै बिर्सेका होलान्, तर हामीले बिर्सेका छैनौँ भनी बताएका छन्। सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘ती बिकुवाहरू जसले हजारौँ युवाहरूलाई विस्थापित हुन बाध्य गरे। आज आफैलाई ‘क्षेत्रवाद’ बारे चिन्तित बताइरहेका छन्। कोलकाताले ‘उठ’ भन्दा उठ्ने ‘बस’ भन्दा बस्नेहरू क्षेत्रवादबारे बोलिरहेका छन्। योभन्दा ठूलो पाखण्ड अरू केही हुन सक्दैन।
के यी मान्छेहरूले कहिल्यै ऐनामा आफ्नो अनुहार हेर्छन् होला? तिनीहरूको पाराको क्षेत्रवादको कारणले आज गोर्खाहरूको अधिकारमा रहेको क्षेत्र अहिले रोहिणी टोल गेट र बढ़ीमा सुकनासम्म सीमित भएर गएको छ। यो तिनीहरूको पाराको नै क्षेत्रवादको नतिजा हो जहाँ चिया बगानहरूमा पाँच तारे होटेलहरूको निर्माण हुँदैछ जबकि चिया बगान अनि सिन्कोना बगानका श्रमिकहरू पर्जा पट्टाबाट वञ्चित छन्। तिनीहरूकै कारण वन बस्ती अनि डीआई फण्डमा बसोबास गर्नेहरूले आजसम्म कुनै भूमि-अधिकार पाउन सकेका छैनन्। यो तिनीहरूकै पाराको क्षेत्रवाद हो जसको कारण सिन्कोना बगान वन विभागलाई हस्तान्तरण गरिए पनि तिनीहरूको मुखबाट एक शब्द फुटेको छैन।”
उनले अघि भने, ‘यो तिनीहरूको पाराको क्षेत्रवाद नै हो जसको कारण आज सबै स्थानीय पदहरूमा नियुक्ति कोलकाताबाट हुँदैछ। तिनीहरूको पाराको क्षेत्रवादको कारण नै सयौँ गाउँहरू अहिलेसम्म सड़कसँग जोड़िएका छैनन्, हाम्रा स्कूलहरू भत्किरहेका छन्, र हाम्रा क्षेत्रमा स्वास्थ्य सेवा सुविधाहरू लगभग नगण्य छ। यसप्रकारको क्षेत्रवादले गर्दा नै सरकारी परियोजनाहरूबाट हजारौं करोड़ रकम लुटिएको छ। तिनीहरूको पाराको क्षेत्रवादले वास्तवमा २००५ देखि यता पञ्चायत चुनाउहरूलाई रोकेको थियो। तिनीहरूको यसै क्षेत्रवादको कारण जीटीएमा शिक्षकहरूको भर्ती घोटालामा संक्षिप्त हुने मौका तिनीहरूले पाए।’
सासंद राजु विष्टले अझ भने, ‘एक गोर्खाको रूपमा मेरो कर्तव्य हाम्रा संवैधानिक अधिकारहरूको सुरक्षा होस् अनि हाम्रा आकांक्षाहरू पूरा होस् भनी सुनिश्चित गर्नु हो। यसका लागि म कुनै पनि हदसम्म जानका लागि तयार छु – चाहे त्यो क्षेत्रीय स्तरमा होस्, राज्य वा राष्ट्रीय स्तरमा। तृणमूल काँग्रेस जस्तो भ्रष्टाचारी, हत्यारा अनि तानाशाहीपूर्ण पार्टीलाई स्वीकार गर्ने, तर बीजेपी जस्तो राष्ट्रीय पार्टीको विरोध गर्ने पाराको क्षेत्रवादलाई म अनि हाम्रो क्षेत्रको जनताले अस्वीकार गर्दछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement