२८ जूनः भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक राहुल द्रविड़ले बताएअनुसार, ईंग्ल्याण्ड विरुद्ध पाँचौं टेस्ट म्याच अघि लीसेस्टरशर विरुद्ध चारदिने अभ्यास म्याचमा टीमले आफ्ना सबै समस्याहरू हल गरेको बताए। श्रेयस अय्यर, विराट कोहली, शुभमन गिल, रिषभ पन्त र रविन्द्र जडेजाले ड्र भएको यस अभ्यास म्याचमा अर्द्धशतक बनाए। द्रविड़ले भने, शुक्रवारदेखि शुरु हुने टेस्ट म्याच अघि हामीलाई जे पनि चाहिएको थियो त्यसलाई हामीले हासिल गऱ्यौं। यस हप्ताको प्रदर्शनसँग हामी खुशी छौं। खेलाड़ीहरूले कम्ती समयमै लय हासिल गरेका छन्। ईंग्ल्याण्डको परिस्थितिहरूमा खेल्ने चुनौतीबारे द्रविड़ले भने, तपाईंसँग खेल्नको निम्ति केवल एउटा म्याच हुँदा यी सब कुराहरूका निम्ति अधिक समय हुँदैन। तपाईंले कम्ती समयमा मैदानमा ओर्लिएर प्रदर्शन गर्नु पर्छ। हाम्रा खेलाड़ीहरूले टेस्ट म्याचको पहिलो दिनदेखि नै यस्तो गर्न सक्ने मलाई आशा छ।
भारतका यस पूर्व दिग्गज ब्याटरले भने, यस्तो स्थितिमा गल्ती गर्ने अधिक विकल्प हुँदैन। जे भए पनि गत एक हप्ता हाम्रो निम्ति राम्रो रह्यो। मेरो विचारमा टेस्ट म्याचको पहिलो दुई दिन पीच चुनौतीपूर्ण हुनेछ। त्यसपछि चाहिँ परिस्थिति सामान्य हुनेछ। ईंग्ल्याण्ड अहिले असाधारण लयमा रहेको छ तर हामी पनि उनीहरूलाई चुनौती दिन तयार छौं। म्याच रोमाञ्चक हुनेछ। उल्लेखनीय छ, भारत र ईंग्ल्याण्डबीच शुक्रवारदेखि शुरु हुने पाँचौं टेस्ट म्याच वास्तवमा गत वर्ष नै खेलिनु थियो तर कोरोना संक्रमणको बढ़्दो मामिलाहरूले गर्दा त्यसलाई स्थगित गरिएको थियो। पाँचवटा टेस्ट म्याचको सीरीजमा भारत अहिले २-१-ले अघि रहेको छ।










