गान्तोक: ‘जनता पहिले: कलंक र भेदभाव बन्द गर्नुहोस्, रोकथामलाई बलियो बनाउनुहोस्’ विषयमा आज राज्यका विभिन्न स्थानमा आज अन्तरराष्ट्रिय ड्रग्स निरोधक एवं तस्करी रोकथाम दिवस पालन गरियो। लागू औषधि दुरुपयोग मुक्त विश्व प्राप्त गर्नका लागि कार्य र सहकार्यलाई सुदृढ़ पार्न हरेक वर्ष पालन गरेझैं यसपाली पनि राज्यको सूचना एवं जनसम्पर्क विभागको परिसरमा यो दिवस पालन गरियो। विभागीय सचिव नम्रता थापा लगायत विभागका अधिकारी अनि कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसरी नै पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चाको उपस्थितिमा पाकिम जिल्ला प्रशासनिक केन्द्र परिसरमा पनि आज अन्तरराष्ट्रिय ड्रग्स निरोधक एवं तस्करी रोकथाम दिवस पालन गरियो। यस अवसरमा जिल्ला अध्यक्ष श्रीमती लाडेन ल्हमु भोटिया, उपाध्यक्ष प्रभा प्रधान, पुलिस अधीक्षक कर्मा ग्याम्छो, अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा लगायत अन्यको उपस्थिति रहेको थियो। यसैगरी आज सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा महकुमा अधिकारी सन्नी खरेलको अगुवाईमा अन्तरराष्ट्रिय ड्रग्स निरोधक एवं तस्करी रोकथाम दिवस पालन गरिएको थियो। जानकारी गराइन्छ, प्रत्येक 26 जूनको दिन अन्तरराष्ट्रिय ड्रग्स निरोधक एवं तस्करी रोकथाम दिवस आयोजन गर्नुले वैश्विक महत्व रहेको छ। नशालु पदार्थ सेवन अनि यसको अवैध धन्दाद्वारा उत्पन्न वैश्विक चुनौतीहरूको समाधान गर्न आजको दिनले जागरुकता बढ़ाउँदै सरकार, संगठनहरू अनि मानिसहरूलाई एक साथ ल्याउने कार्य गर्छ।