काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्रा परेका छन्। सोमबार जिल्ला पुलिस परिसर काठमाडौंले मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो। पुलिसले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार रहेका थिए। बुढाथोकीको ब्यांक खाताबाट कारोबार रहेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो। त्यसमध्ये १८ जना पक्राउ परेका थिए। पक्राउ परेका अभियुक्तको थुनछेक बहस सकिएर १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ भने लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गरेको थियो।