साङ: नरबहादुर भण्ढारी सरकारी महाविद्यालय, तादोङको नेपाली विभागले स्थलगत भ्रमण अन्तर्गत साङ क्षेत्रको नाजिताममा रमाइलो रोपाइँ कार्यक्रम सम्पन्न गर्यो। डा. टेकबहादुर छेत्रीको अगुवाइ नेपाली सम्मान चौथो सत्रका विद्यार्थीको टोलीमा जम्मा त्रिचालिसजना विद्यार्थीको सहभागिता रहेको थियो। पारम्परिक धान रोपाइँबारे विविध सूचना सङ्कलन, रोपाइँका बेला गाइने लोकगीत, नाचिने लोकनृत्य, कृषि औजार, रोपाइँसम्बन्धी लोकविश्वास, रोपाइँका छेक खाइने पारम्परिक खानपान सम्बन्धी अध्ययन, तथ्य सङ्कलन र स्थलगत अनुभवको उद्देश्यका साथ यो भ्रमण आयोजन गरिएको थियो। विद्यार्थीहरूले रोपाइँका लागि बिसजना रोपार, सातजना बाउसे, तिनजना बियाडे, दुई हली र भान्सेको समूह बनाई रोपाइँ सम्पन्न गरे। रोपाइँका क्रममा हिल्याउने, दाँदे लाउने, फ्याउरी लाउने, बिउ उखेल्ने कामसँगै रोपाइँका बेला गाइने लोकगीत र लोकनृत्य पनि प्रस्तुत गरे। खाजामा दही, चिउरा, केरा तयार गरेर रोपाइँलाई अझ रमाइलो बनाए।

रमाइलो रोपाइँ विषयक यस स्थलगत भ्रमण अवसरबारे विद्यार्थी निर्मल छेत्रीले आफ्नो अनुभव राख्दै यसो भने, “यस्तो क्रियाकलापले मलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान अभिवृद्धिमा ठुलो सहयोग पुग्यो, यसद्वारा समूहकार्यको ज्ञान, लोक महत्त्वका विषयवस्तुको जानकारी प्राप्त भयो।” यसैगरी छात्र कृतिका ढकालले आफ्नो अनुभव साझा गर्ने क्रममा, “मैले यस भ्रमणबाट सांस्कृतिक मूल्य मान्यताको सूचना, अनुभव गर्ने अवसर पाएँ। साथी भाइसँग यसरी रोपाइँ गर्नु बेग्लै रमाइलो भयो। घर-गाउँको सम्झना झल्झली भयो। यस्तो अवसरमा सहभागी हुन पाउँदा हर्षित भएको छु।” केही विद्यार्थीहरूले रोपाइँको यो पहिलो अनुभव भएको बताए।

सयोजक डा. टेकबहादुर छेत्रीले यस भ्रमणको उद्देश्य र औचित्यबारे मन्तव्य राख्ने क्रममा यसो भने, “नेपाली स्नातक लिएर पढ्ने विद्यार्थीले पुस्तकीय ज्ञानका अतिरिक्त व्यावहारिक ज्ञान आर्जन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यो भ्रमणले विद्यार्थीमा कृषिका सम्बन्धमा प्रचलनमा आउने विभिन्न शब्द र अर्थको सन्दर्भको ज्ञान प्राप्त गर्ने, लोकसंस्कृतिका घटकहरूसँग परिचित हुने र शारीरिक तथा मानसिक विकास गर्ने अवसर प्रदान गरेको छ।”
यस्तो नवोन्मेषी प्रकल्प आयोजन गर्न महाविद्यालयका प्राचार्य डा. डी पुरोहित, विभागाध्यक्ष डा उदय छेत्री अनि अन्य शिक्षकगण डा गीता निरोला, डा. शारदा छेत्री अनि चन्द्रप्रकाश राईले देखाएको सदाशयताप्रति विद्यार्थीवर्गले आभार प्रकट गरे।