गान्तोकः डा. कृष्णकुमार सापकोटाद्वारा लिखित शोधमूलक पुस्तक विनिर्माण र लीलाः इन्द्रबहादुर राई अनि प्रवीण राई जुमेलीका कथाहरूको अध्ययन सोमबार लोकार्पण भएको छ। ५ माइल तादोङस्थित कावेरी सम्मेलन भवनमा सिक्किम विश्वविद्यालय नेपाली विभागका शोधार्थीहरूद्वारा आयोजित सिर्जना र समय कार्यक्रममा उक्त पुस्तकको लोकार्पण भएको छ। डा. कृष्णकुमार सापकोटाले आफूले एमफिलमा गरेको शोधकार्यको विषयलाई पुस्तकको रूप दिएर पाठकहरू समक्ष ल्याएको जानकारी गराएका छन्। विमोचन कार्यक्रममा सभा अध्यक्षको रूपमा सिक्किम विश्वविद्यालय नेपाली विभागकी अध्यक्ष प्रोफेसर डा. कविता लामा उपस्थित थिइन् भने विशिष्ट अतिथिका रूपमा कञ्चनजङ्घा राज्य विश्वविद्यालयका प्राध्यापक डा. उदय क्षेत्री, डा. गीता निरौला अनि सिक्किम विश्वविद्यालय नेपाली विभागबाट डा. देवचन्द्र सुब्बा, डा. समर सिंहा, डा. अरुणा राई, डा. बलराम पाण्डे र डा. सुमन बान्तवाको उपस्थिति रहेको थियो।
डा. समर सिंहाले उक्त पुस्तकको विषयमा आफ्नो विचार व्यक्त गर्दै नेपाली भाषामा विनिर्माण र लीलाको विषयमा आधारित यस किसिमको पुस्तक भारतबाट प्रकाशित सम्भवतः यही नै पहिलो रहेको बताए। विनिर्माणको परम्परा, विकास र सैद्धान्तिक पक्षलाई समेटेर लेखिएको उक्त पुस्तक विद्यार्थी र शोधार्थीहरूका लागि धेरै उपयोगी हुने उनले बताए। डा. देवचन्द्र सुब्बाले पनि पुस्तकमाथि आफ्नो विचार राख्दै भारतबाट नेपालीमा लेखिएको सम्भवतः यो पहिलो पुस्तक रहेको बताए। कुनै कृति पनि आलोचनादेखि पर नहुने र यो कृतिमा पनि आलोचना गर्ने ठाउँहरू रहेको उनले बताए। विनिर्माण र लीला जस्तो विषयलाई लिएर यस क्षेत्रबाट पुस्तक प्रकाशित हुनु एउटा सकारात्मक संकेत रहेको टिप्पणीकारहरूको भनाइ रहेको थियो।
कार्यक्रममा लेखक डा. कृष्णकुमार सापकोटाले आफ्नो अध्ययन र लेखनको अनुभव साझा गर्दै सम्पूर्ण प्राध्यापकगण र आफ्ना सहयोगी साथीहरूलाई धन्यवाद व्यक्त गरे। आफू शोधार्थी हुँदा शोध निर्देशक डा. कविता लामाले मार्गदर्शन गरेको बताउँदै यो पुस्तक प्रकाशनमा पनि उनको सबैभन्दा ठूलो सहयोग गरेको डा. सापकोटाले जानकारी गराए। कार्यक्रम अध्यक्ष डा. कविता लामाले आफ्नो सम्बोधनको क्रममा लेखक डा. कृष्णकुमार सापकोटालाई बधाई दिँदै उक्त पुस्तक प्रकाशनमा आउनु सिक्किम विश्वविद्यालय नेपाली विभागकै लागि गौरवको क्षण रहेको बताइन्। भविष्यमा पनि आफ्ना विद्यार्थी र शोधार्थीहरूबाट यस्तै कामहरूको आशा व्यक्त गर्दै उनले सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन्। कार्यक्रममा शोधार्थी नर्वदा मंगर र भीम सापकोटाले कविता वाचन गरेका थिए भने विद्यार्थी प्रीतिका सुन्दासले गीत प्रस्तुत गरेकी थिइन्। शोधार्थी रोशनी भुजेलद्वारा सञ्चालित कार्यक्रम शोधार्थी प्रतिम घतानीको धन्यवाद ज्ञापनपछि समाप्त भएको थियो।
-हिस