२६ जूनः स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराजले क्वीन्स क्लब टेनिस च्याम्पियनशीपमा खिताब जिते। उनले फाइनलमा अष्ट्रेलियाका एलेक्स डी मिनौरलाई सीधा सेटमा ६-४, ६-४-ले पराजित गरे। यस खिताबी जीतको साथ अल्काराजले २३ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचलाई पछि ठेलेर वर्ल्ड ऱ्यांकिंगमा शीर्ष स्थान हासिल गरे। डी मिनौरलाई पराजित गरी अल्काराज क्वीन्स क्लबको खिताब जित्ने रफायल नडाल, पीट सम्प्रास र जन म्याकनरो जस्ता दिग्गजहरूका सूचीमा पनि सामेल भए। ट्रफी जितेपछि अल्काराजले भने, यहाँ आएर खेल्नु अनि ट्रफी जित्नु विशेष अनुभव रह्यो। अब मेरो नाम पनि ट्रफी जित्ने दिग्गजहरूका सूचीमा सामेल हुनेछ अनि यो मेरो निम्ति ठूलो उपलब्धि हो। २० वर्षीय अल्काराज आफ्नो करियरमा केवल तेस्रोपल्ट ग्रास कोर्ट टुर्नामेण्टमा खेलिरहेका थिए। यसअघिको दुईवटा प्रयासमा उनी चौथो राउण्डभन्दा अघि बढ़्न सकेका थिएनन्। यसपाली असाधारण प्रदर्शनको साथ ट्रफी जितेपछि अल्काराज आउँदो महिना ग्रास कोर्टमा हुने सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनमा जोकोविचको निम्ति ठूलो चुनौती हुनेछन्। विम्बल्डनमा जोकोविचको असाधारण रेकर्ड रहे पनि अल्काराज अब शीर्ष वरीयता प्राप्त खेलाड़ीको रूपमा खेल्न ओर्लिनेछन्।