चण्डीगढ़-मनाली नेशनल हाईवेसहित ८३ सड़क बन्द, तीनजनाको मृत्यु
शिमला: हिमाचल प्रदेशमा मनसूनको वर्षाले व्यापक प्रभाव पारेको स्पष्ट देखिँदैछ। बितेको २४ घण्टाभित्रमा यस राज्यका कतिपय भागहरूमा भएको मुसलधारे वर्षाबाट जनजीवन प्रभावित भएको छ। हमीरपुर जिल्लाअन्तर्गत सुजानपुर उपमण्डलको खेरी गाउँमा बादल फाटेको कारणले धेरैवटा घरहरूभित्र बाढ़ीको पानी प्रवेश गरेको छ। भारी वर्षाले गर्दा राज्यका केही क्षेत्रहरूमा पैह्रो गएकोले अहिलेसम्ममा तीनजना मानिसहरूको मृत्यु भइसकेको छ भने एकजना घाइते भएका छन्। साथै एकजना व्यक्ति बेपत्ता भएका छन्। बाढ़ीले पशुहरूसहित वाहनहरूलाई पनि बगाएको छ। यस अतिरिक्त अन्य सम्पतिलाई पनि व्यापक क्षति पुऱ्याएको छ।
राज्यमा पैह्रोले गर्दा चण्डीगढ़-मनाली अनि शिलाई-पांवटा साहिब नेशनल हाइवेसहित ८३ वटा सड़क मार्गहरू अहिले पनि अवरूद्ध छन् जसलाई सुचारू बनाउने प्रयास भइरहेको छ। चण्डीगढ़-मनाली नेशनल हाईवे मण्डी जिल्लामा दुई ठाउँ अवरूद्ध भएको छ। तथापि कुल्लूबाट आउने साना-साना वाहनहरूलाई भाया गोहर-चौकलौक भएर गन्तव्य तर्फ पठाइँदैछ। तर भारी वाहन, मालवाहक वाहनहरू अहिले पनि जाममा फसेका छन्। मण्डीका एएसपी सागर चन्द्रले बताए, सात र चार मील नजिक नेशल हाईवेलाई बहाल गर्ने कार्य भइरहेको छ। यसबीच पराशर घुम्न आएका चम्बाका एक सयजना विद्यार्थीहरू बागीमा सड़क भत्किएको कारणले गए आइतबार रातिदेखि नै फसेका छन् जसलाई सुरक्षित स्थानमा राखिएको छ।
राज्य आपदा प्रबन्धन प्राधिकरणको रिपोर्टअनुसार मण्डी जिल्लामा सबैभन्दा अधिक ३५ वटा सड़कहरू बन्द छन्। यसरी नै सिरमौर जिल्लामा २३, चम्बामा १०, सोलनमा ७, कुल्लूमा ५, बिलासपुर, काँगड़ा, लाहौल-स्पीति औ शिमलामा एक-एक सड़क मार्ग बाधित भएका छन्। भीषण वर्षाको कारणले १४० वटा ट्रान्सफर्मर बन्द भएकोले धेरैवटा क्षेत्रमा बिजुली सर्वराह ठप्प भएको छ। सिरमौर जिल्लाको नाजन उपमण्डलमा ६९, चम्बामा ३०, मण्डीमा २५, कुल्लूमा १६, लाहौल-स्पीतिमा ८, हमिरपुरमा ५ अनि किन्नौरमा एउटा ट्रान्सफर्मर बन्द छन्। -हिस