काठमाडौं: नेपालको पशुपतिनाथ मन्दिरमा २०२१ मा चढाइएको १०८ केजीको सुनको जलहरीमा भ्रष्टाचार भएको आशंकामा छानविन बढाइएको छ। नेपालको भ्रष्टाचार छानबिनको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार राति पशुपतिनाथ मन्दिर पुगेर जलहरी निकालेर जोखेको छ। सोमबार बिहानसम्म लगाएर पशुपतिनाथको जलहरी तौलिएको आयोगले जनाएको छ। सुनको जलहरी कति किलोग्राम छ भन्ने खुलाइएको छैन। अख्तियारले वृस्तृत छानबिन गरी यथार्थ जानकारी गराउने बताएको छ।
पशुपति मन्दिर परिसरको गर्भगृहमा सुनको जलहरी चढाइएको थियो। त्यतिबेला क्षमा पूजा गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी चढाएकी थिइन्। पशुपति क्षेत्र विकास कोषले १०६ किलो सुनमात्रै खपत गरेको भनी उजूरी परेपछि अख्तियारले अनुसन्धान बढाएको हो। जलहरी पशुपतिनाथको विभिन्न भागमा मिलाएर जडान गरिएको छ। सबै निकालेर नापजाँच गर्नुपर्ने भएकाले भक्तजनलाई निकालेर सीसीटीभी समेत जडान गरी जाँच गरिएको थियो।
सुनको जलहरी चढाउँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए। सन् २०२१ को शुरुमा ओली पत्नी राधिका शाक्यका साथ पशुपतिनाथ पुगी संकल्प पूजा गरेर जलहरी राख्ने घोषणा गरेका थिए। सोही साल चाँदीको साटो सुनको जलहरी राखिएको हो। जलहरी राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड एक लाख ११ हजार नेपाली रुपियाँमा खरिद गरिएको थियो। सुनमा ३ प्रतिशत तामा र एक प्रतिशत चाँदी मिलाइएको पशुपति विकास कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले सर्वोच्च अदालतमा पठाएको जवाफमा सोही परिमाणमा सुन खरिद उल्लेख छ। ओली सरकारले जलहरीका लागि मन्त्रिपरिषदबाट घोषणा गरी दिएको थियो। कोषले पनि रकम लगानी गरेको थियो। -हिस