२६ जूनः वेष्ट इण्डिज यात्रामा खेलिने टेस्ट सीरीजको निम्ति भारतीय टीममा सरफराज खानले स्थान नपाउँदा सुनिल गावस्कर जस्ता पूर्व दिग्गजहरूले चयनकर्ताहरूको आलोचना गरेका थिए तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-को सूत्रबाट थाहालागे अनुसार, टीममा स्थान नपाउनुको पछि मुम्बईका ब्याटरको खराब फिटनेस र कथित रूपमा अनुशासनको कमी मुख्य कारण रहेको छ। देब्रे हातका ब्याटर सरफराजले रणजी ट्रफीको गत तीन सीजनमा २५६६ रन बनाएका छन्। उनले आफ्नो प्रथम श्रेणीको करियरमा ३७ वटा म्याच खेलेर ७९.६५-को औसतले रन बनाएका छन्। यसैकारण अण्डर-१९ वर्ल्ड कपमा दुईपल्ट देशको प्रतिनिधित्व गर्ने खेलाड़ीलाई टीममा स्थान हासिल नहुँदा प्रश्न उठिरहेको छ। टेस्ट टीममा रुतुराज गायकवाड़को चाहिँ चयन भएको छ, जसले प्रथम श्रेणीको करियरमा लगभग ४२-को औसतले रन बनाएका छन्।
भारतीय टीमको चयनसँग सम्बन्धित बीसीसीआईका एकजना अधिकारीले गोपनीयताको शर्तमा भने, टीमको चयनलाई लिएर यस्तो तीखो प्रतिक्रियाहरू आउनु स्वाभाविक कुरा हो तर सरफराजलाई बारम्बार किनारा लगाउनुको पछि क्रिकेट मात्र कारण होइन। उनलाई टीममा चयन नगरेको एकाधिक कारण रहेको छ। यस्तो नभए लगातार दुई सीजनमा ९०० भन्दा अधिक रन बनाउने खेलाड़ीलाई टीममा सामेल नगर्ने मूर्खता पनि चयनकर्ताहरूले गर्दैनन्। टीममा चयन नहुनुको प्रमुख कारण उनको फिटनेस हो, जुन अन्तर्राष्ट्रिय स्तरको छैन। यस मामिलामा सरफराजले धेरै मेहनत गर्नु पर्नेछ अनि फिटनेस हासिल गर्नु पर्नेछ। चयनको निम्ति ब्याटिंग फिटनेस मात्र मानदण्ड हुँदैन। सूत्रबाट थाहालागे अनुसार, हालै राष्ट्रिय क्रिकेट एकाडमीमा आफ्नो प्रवासको अवधि यस खेलाड़ीले यो यो टेस्टमा १६.५ अंक हासिल गरेका थिए।
बीसीसीआईका अधिकारीले बताएअनुसार, सरफराजले फिटनेसको साथ-साथ मैदान भित्र अनि बाहिर आफ्नो व्यवहारमाथि पनि विशेष ध्यान दिनु पर्नेछ। उनी अनुशासनको मानदण्डमा पनि पास हुनु पर्नेछ। अधिकारीले भने, सरफराजको मैदान भित्र अनि बाहिर आचरण शीर्ष स्तरको छैन। उनको बोल्ने तरिका अनि शारीरिक भाषा राम्रो छैन। सरफराज र उनका पिता तथा प्रशिक्षक नौशाद खानले यी कुराहरूमाथि विचार गर्ने आशा छ। उल्लेखनीय छ, मुम्बईका यस ब्याटरले यस साल दिल्ली विरुद्ध रणजी म्याचमा शतक बनाएपछि आक्रामक मिजासमा खुशीयाली मनाएका थिए। उनको यस्तो व्यवहारसँग चयनकर्ताहरू खुशी छैनन्। त्यस समय चयन समितिका तत्कालीन प्रमुख चेतन शर्मा पनि स्टेडियममा उपस्थित थिए। यसअघि २०२२-को रणजी ट्रफी फाइनलमा पनि उनको आचरणमाथि मध्यप्रदेशका प्रशिक्षक तथा मुम्बईका पूर्व दिग्गज चन्द्रकान्त पण्डितले निराशा व्यक्त गरेका थिए। आईपीएलमा सरफराजको खराब प्रदर्शन र शर्ट बल विरुद्ध कमजोरीले गर्दा चयनकर्ताहरूले यस्तो फसेला लिएका त होइनन् भन्ने प्रश्नको जवाफमा अधिकारीले भने, यो केवल मीडियाले बनाएको धारणा हो। मयंक अग्रवाल भारतीय टेस्ट टीममा आउँदा उनले एक सत्रमा प्रथम श्रेणीमा लगभग १००० रन बनाएका थिए। त्यस समय एमएसके प्रसादको अगुवाईमा रहने चयन समितिले उनको आईपीएल रेकर्ड त हेरेनन् होला। हनुमा विहारीको साथ पनि यस्तै भयो। उनी पनि घरेलु क्रिकेटमा असल प्रदर्शन गरेर नै राष्ट्रिय टीममा आएका थिए।