भाजपाले पञ्चायत चुनाउ जित्नेसाथ गोर्खाल्याण्ड हुनेछ भनोस् म मेरो सबै उम्मेदवारको उम्मेदवारी वापस लिनेछु: अनित थापा
खरसाङ: पञ्चायत चुनावमा उठेका भागोप्रमो पार्टीको प्रार्थीहरूका पक्षमा चुनाव प्रचार गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा खरसाङ खण्ड अन्तर्गत महानदी तीनधारे समष्टिको सिमरिङ पुगेका छन्। सिमरिङ र मालुटार चियाबारीको विभिन्न गाउँहरू पुगेर भागोप्रमो प्रार्थीहरूका पक्षमा चुनाव प्रचार गरिरहेका भागोप्रमो अध्यक्ष अनित थापाले सांसद राजु विष्टमाथि खनिन्दै राजु विष्टले आफ्नो चुनाउ समय महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याउँछु भनेको थियो। तर गोर्खाल्याण्ड ल्यायो? भाजपाले आफ्नो घोषणा पत्रमा यति मात्र लेखिदेओस् कि पञ्चायत चुनाउ जित्ने साथ गोर्खाल्याण्ड हुनेछ। म मेरो सबै उम्मेदवारको उम्मेदवारी वापस लिनेछु भनी बताएका छन्।
अनित थापाले भने, ‘दार्जीलिङ पहाडको जनताले कुन पार्टीलाई मन पराउँछ मन पराउँदैनन् त्यो चुनाउको परिणामले बताउनेछ। भाजपाले पहाडलाई एउटा काँटीसम्म दिएको छैन। उसलाई जनताले मनपराउँछ? जित्ने पार्टी एक्लै उभिएको हुन्छ। हार्ने पार्टीले भीड जम्मा गर्छ। हामीले जनतासँग गठबन्धन गरेका छौं, उनीहरूको गठबन्धन नेताहरुको हो। क्षेत्रीयता मास्नु बीजीपीएमले पटक्कै दिने छैन।”

अनित थापाले अघि भने, ‘मैले पहाडको विकासको निम्ति तृणमूलको सरकारसँग मिलेर काम गरेको हुँ। यसपालीको भोटमा जहाँ हामी उठेका छौं त्यहाँ तृणमूल पनि उठेको छ। चुनाउमा हामीलाई तृणमूलले कुनै हस्तक्षेप गरेको छैन। मैले आफ्नो क्षेत्रीयताको धर्म निभाएको छु। राजु विष्टहरुलाई जति नै ढाट्दा पनि केही छैन कारण उनीहरूलाई यहाँ बस्नु नै छैन। म त यही जन्मेको अनि हुर्केको व्यक्ति हुँ। मलाई मर्नु पनि यही छ। मैले जनतालाई ढाँटेर राजनीति गर्नु छैन।’