विद्यार्थीहरूले हासिल गरेको डिग्री समस्या उत्पन्न गर्ने नभएर समाधान गर्ने हुनुपर्ने जेकब खालिङको भनाइ
गान्तोक: सिक्किम युनिभर्सिटी स्टुडेन्ट एसोसिएशन (सुसा)को पहलमा आज सरमसा गार्डनमा आयोजित रमाईलो सुखिम कार्यक्रमको समापन भयो। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सविच जेकब खालिङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने सोही प्रकारले सिक्किम विश्वविद्यालयका उपकूलपति अभिनाष खरे, भवन तथा आवास विभागका अध्यक्ष कर्म टाशी भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवद्वय छिरिङ वाङचुक लेप्चा, कविता सापकोटा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आजको यस कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रको निम्ति प्रतियोगिता आयोजना गरिएको थियो, जसमा फुटबल, भलिवल, नृत्य, तर्क प्रतियोगिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि खालिङले सिक्किम विश्वविद्यालयले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा खुशी प्रकट गरे।सकारात्मकरूपमा सोच्नेहरूको निम्ति सिक्किम वास्वतमा रमाइलो रहेको तर नकारात्कम दृष्टिकोणले हेर्नेहरूको निम्ति सबै कुरा नकारात्मक नै हुने गरेको बताए। एसकेएम पार्टीको सरकार गठन भएपछि यता धेरै जना गरिबका छोराछोरीले अध्ययन गर्ने अवसर पाएर उनीहरूको सपना साकार भएको उल्लेख गरे। आजको समयमा जसले पढेको छैन् उ निराश हुनु स्वाभाविक हो तर शिक्षित व्यक्ति निराश हुन नमिल्ने जनाए। अध्ययन पुरा गरेपछि त्यसले समस्या उत्पन्न नगराएर समस्या समाधान गर्ने बताए। विद्यार्थीहरूले हासिल गरेको डिग्री समस्या नबनेर समस्या समाधान गर्ने एक माध्यम बनाउनु पर्ने खालिङले सुझाउ दिए।यस अवसरमा सिक्किम विश्व विद्यालयका उपकूलपति एवम आयोजक समितिका प्रमुख संरक्षक अभिनाष खरेले पनि सम्बोधन गरेका थिए।