राष्ट्रीय मूल्याङ्कन एवम् प्रत्यायन परिषदबाट  सोनादा डिग्री कलेजले प्राप्त गर्यो बी ग्रेडको मान्यता

IMG-20230625-WA0291.jpg

सोनादा: देशभरिका कलेज , विश्वविद्यालयहरूलाई विभिन्न दृष्टिकोणले जाँच गरेर मूल्याङ्कन गर्ने राष्ट्रिय मूल्याङ्कन एवम् प्रत्यायन परिषद्ले सोनादा डिग्री कलेजलाई  बी ग्रेडको मान्यता प्रदान गरेको छ। गत् महीना ३० र ३१ मईको दिन उक्त परिषद्को तर्फबाट तीन सदस्यीय उच्च स्तरीय टोली आएर कलेजको पाठ्य र सह पाठ्यक्रमका अनेक पक्षहरू लगायत कलेज भवन, कलेजको परिवेश , पुस्तकालय र  शिक्षण- अशिक्षणकर्मीहरू  लगायत विद्यार्थीहरूले उपभोग गरी रहेका सुख- सुविधा एवम् विभिन्न समस्या तथा असुविधाहरू लगायत शिक्षण – अशिक्षणकर्मी र विद्यार्थीहरूका विभिन्न क्षेत्रका पाँच वर्षको प्रगति रिपोर्टको अति सूक्ष्मावोलन गरेपछि प्रत्येक क्षेत्रमा मूल्याङ्कनका लागि राखिएका अङ्कमा कलेजले प्राप्त गरेको अङ्क आधारमा बी ग्रेडको मान्यता दिएको लिखित रिपोर्ट हिँज २४ जूनको दिन प्राप्त गरेपछि कलेजसंगै सोनादाभरि नै हर्षको लहर छाएको छ। उक्त राष्ट्रीय  स्तरको  विशिष्ट जाँच  टोलीले कलेजको प्रत्येक पक्षमा नै सन्तुष्टि जाहेर गरेका थिए साथै भविष्यमा अझ उत्तरोतर प्रगतिको लागि विभिन्न सुझावहरू पनि दिएका थिए। सरकारी अनुदानमा सञ्चालन हुने सोनादाको एक मात्र उच्च शैक्षिक संस्थान सोनादा डिग्री कलेजले यसरी बी ग्रेसको मान्यता पाउनु कलेजको मात्र नभएर सोनादा तथा दार्जीलिङ पहाडको शैक्षिक क्षेत्रको लागि एक ठूलो उपलव्धि मान्नु पर्ने कुरो जाहेर गर्दै विज्ञजनले कलेजको प्रशंसा गरेका छन्। राष्ट्रीय मूल्याङ्कन एवम् प्रत्यायन परिषद्को यो पहिलो उच्च स्तरीय जाँचमा नै कलेजले  बी ग्रेडको मान्यता प्राप्त गरेकोमा सन्तुष्टि प्रकट गर्दै कलेजका प्राचार्य डा.एल.पी. गुप्ता र कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन समितिका संयोजिका डा.रागिनी थापाले सर्वप्रथम त ती राष्ट्रीय  स्तरको विभिन्न जाँच टोलीका तीन विद्वान सदस्यहरूसंगै कलेजका गवर्निङ बडीका वर्तमान सभापति तथा राज्यसभा सांसद श्रीमती शान्ता छेत्री, पूर्व सभापतिहरु डा.रोहित शर्मा, महेन्द्र प्रधान एवम् केही वर्षसम्म कलेजको प्रशासकको रूपमा रहनुभएका दार्जीलिङका महकुमा अधिकारीहरू र कलेजका विगत एवम् वर्तमानका गवर्निङ बडीका सदस्य- सदस्याहरू लगायत सोनादा पचेङ समष्ठिका वर्तमान सभासद तथा जीटीएका कार्यकारी सभासद अनोश थापा, कलेजका शिक्षक – अभिभावक समिति र कलेजका पूर्व विद्यार्थी संगठनका पदाधिकारीहरू एवम् सदस्य- सदस्यागण र कलेजका पूर्व एवम् वर्तमान विद्यार्थी, शिक्षण- अशिक्षण कर्मी सबैलाई धन्यवाद अर्पण गरेका छन्। सबैको एकता र  आपसी सहयोगले  सक्रियतासाथ कलेजको लागि काम गर्नाले कलेजले न्याकबाट बी ग्रेड प्राप्त गर्न सक्षम बनेका छन्। यस कार्यको लागि आफ्ना सुझाव र सहयोगहरु दिनुहुने सन्त जोसेफ कलेज दार्जीलिङका प्राचार्य, विभिन्न कलेजका प्राध्यापक- प्राध्यापिकाहरू एवम् प्रभाकर समाज  रमिते सोनादाका पदाधिकारी र सदस्य- सदस्यावर्ग एवम् सम्पूर्ण सहयोगीहरूप्रति कलेज सधैँ आभारी रहनेछ।स्मरण रहोस् आजभन्दा अठ्तीस वर्ष अघि अर्थात सन् १९८५ सालमा त्यसबेलाका सोनादा क्षेत्रका शिक्षा अनुरागी महानुभावहरुको शिक्षाप्रतिको दूरदर्शी विचारको फलस्वरूप सोनादा र यसका निकटवर्ती  चियाबारी, बस्ती क्षेत्रका विद्यार्थीहरूले सुलभ मूल्यमा आफ्नै गाउँकै कलेजबाट उच्च शिक्षा आर्जन गर्न सकोस् भन्ने सपना सोचेर सोनादा डिग्री कलेजको स्थापना भएपछि आजसम्म यस कलेजमा अध्ययन गर्ने सयौं विद्यार्थीहरू विभिन्न क्षेत्रमा विभिन्न ओहोदामा पुग्न  सक्षम भएका छन्। नेपाली, अङ्ग्रेजी, राजनीति विज्ञान, इतिहास, दर्शनशास्त्र र शिक्षाशास्त्र जस्ता विषयहरू रहेको यस कलेजमा नेपाली, अङ्ग्रेजी, इतिहास र राजनीति विज्ञानमा अनर्स  कोर्स पनि रहेका छन् भने निकट भविष्यमा नै समाज शास्त्र र भूगोल विषय पनि अन्तर्भुक्त हुन सक्ने सम्भावना रहेको छ। सह पाठ्यक्रमको रुपमा एन सी सी र एन एस एस जस्ता जस्ता सरकारी निकायहरू पनि सक्रिय  रहेको  सरकारी अनुदानमा सञ्चालित एवम् कलेज सेवा आयोगद्वारा सिफारिश प्राप्त गरेका अनुभवी शिक्षक- शिक्षिकाहरूको साथमा  सोनादा डिग्री कलेजमा अति नै सस्तो शुल्कमा अध्ययन गर्ने सुअवसर रहेकोले विशेष गरी सोनादा एवम् यसका निकटवर्ती क्षेत्रका उच्चतर माध्यामिक उत्तीर्ण विद्यार्थीहरूलाई उक्त विषयमा अनर्स र पास कोर्सको अध्ययनको लागि सोनादा डिग्री कलेजमा नै अध्ययन गर्नार्थ कलेज कर्तृपक्षले विद्यार्थीहरूलाई निवेदन गरेका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement