कोलकाता: अनलाइन पार्किङ योजना कोलकाता नगरनिगमले आर्थिक वर्षको शुरुमा अवैध पार्किङलाई रोक्न अनि निवास र घर बाहिर पार्किङको वैधताको लागि शुरु गरेको थियो। यसअन्तर्गत अब सवारीधनीले केएमसीको वेवसाइटबाट अनलाइन आवेदन दिएर मान्य पार्किङ अनुमति पाउन सक्नेछन्। यसका लागि पहिले सवारीसाधन मालिकले केएससीमा जानुपर्ने भए पनि यो सुविधा अनलाइन भएसँगै अब घरमै बसेर सवारीधनीले आवेदन दिन सक्नेछन्। यसका लागि सवारी साधन मालिकले वार्षिक ६ हजार ३ सय रुपियाँ तिर्नुपर्नेछ जसमा मासिक ३ सय रुपियाँ कर र ५ सय रुपियाँ पार्किङ शुल्क रहेको छ। आवेदकलाई कार पार्किङका लागि स्टिकर उपलब्ध गराइने केएमसीका एक अधिकारीले बताए। यो स्टिकर गाडीमा अनिवार्य लगाउनु पर्नेछ। यदि कुनै कारणवश गाडीमा स्टिकर टाँसेको छैन भने, निगमले पार्क गरिएको कारलाई कारबाही गर्नसक्छ।
अब राति अवैध पार्किङ गरेमा कोलकाता नगरपालिकाले गाडी जफत गर्नेछ। महानगरमा अवैध पार्किङका घटना हुन नदिन कामपाले यस्तो कदम चालेको हो। निगम स्रोतका अनुसार महानगरका धेरै चालकले रातिको समयमा अवैध रुपमा गाडी पार्क गर्ने गरेका छन्, जसविरुद्ध निगमका पदाधिकारीले समय समयमा विशेष अभियान चलाउने गरेका छन्। यससँगै अवैध पार्किङ गर्ने चालकबाट जरिवाना असुल्ने गरेको छ। यसैअन्तर्गत हिजो राति पनि कामपाले वार्ड न० १९ मा अवैध पार्किङविरुद्धको अभियान चलाएर करिब ५६ सवारीसाधन नियन्त्रणमा लिएको छ। केएमसीले सवारी साधनबाट एक हजार रुपियाँ जरिवाना लिने गरेको छ।
केएमसीका एक अधिकारीले मध्य र उत्तर कोलकातामा हालको लागि रात्रि पार्किङ योजना सुरु गरिएको बताए। रातिको समयमा अवैध पार्किङ रोक्नको लागि यस्तो गरिएको केएससीले जनाएको छ। आउँदो दिनहरूमा यो योजना सम्पूर्ण कोलकातामा शुरु हुनेछ।