काठमाडौं: नेपालका माओवादी नेताहरुको चीन भ्रमण ह्वात्तै बढेको छ। उनीहरु सामान्य कार्यक्रममा निम्तो आउँदा पनि जान थालेका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन जाने तय भएको छ। उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ चार दिवशीय भ्रमणका लागि छेन्दु जाने उनको सचिवालयले जनाएको छ। श्रेष्ठ छेन्दुमा हुने व्यापार मेलामा विशेष अतिथिमा सहभागी हुने जनाइएको छ। भ्रमण टोलीमा ७ जना हुनेछन्।
जून महिनामै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा चीन भ्रमणमा गएका थिए। उनी नेतृत्वको भ्रमणमा टोलीमा २० जना माओवादी नेता सहभागी थिए। सापकोटाले बेइजिङमा महत्वपूर्ण भेटहरु गरेका थिए।
माओवादीका उपमहासचिव वर्षमान पुन लामो समय चीनमा उपचार गरी गत हप्ता फर्किएका थिए। यसैगरी, नेपाल सरकारले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चीन भ्रमणको तयारी थालेको छ। प्रचण्डले जुलाईको अन्तिमतिर चीन भ्रमण गर्ने माओवादी उपाध्यक्ष सापकोटाले खुलासा गरिसकेका छन्। -हिस