नैनाको सिर्जनात्मक यात्रामा पुरस्कारै पुरस्कार

00-1-A-IMG-20230625-WA0081

आफ्नो कर्मको योग्यतामा पुरस्कार पाएको आनन्द छुट्टै हुन्छ। चाहे पुरस्कार जस्तै नहोस् किन! ढिलो होस् अथवा छिटो नै नहोस् किन! निरन्तरता, इमानदारिता साथै अध्ययनशील मनोभाव लिएर सिर्जनात्मक यात्रामा निस्कने सर्जकहरूले केवल साहित्य साधनामा व्यस्त रहन्छन्। पुरस्कारको पछि कुद्ने समय हुँदैन। पुरस्कार र सम्मान यिनीहरूको कर्मले स्वत: बटुल्छ। पुरस्कारको पछि यिनीहरू  दौडिँदैनन् पुरस्कार आफै यिनीहरूको नामसँग जोडिँदै जान्छ। यस्तै एउटा नाम हो नैना अधिकारी। सन् २००० देखि साहित्य साधनामा लागिपर्ने नैनाले मुक्तकबाट लेखन कर्मको थालनी गरेकी हुन्। मुक्तकपछि गजल। त्यसपछि कविता…. अनि कविता। सुरुमै नैनाको ‘किसान’ कविता चर्चामा रहन्छ। त्यसपछि ‘मेरो गाउँ डिजिटल बन्छ बन्छ ‘ भन्ने कविता निकै चर्चित हुन्छ। कवितासँगै नैना पनि चर्चित हुन पुग्छिन्। अनि कविता लेख्न थालेको ८ महिनापछि नै उनको पहिलो  कविता कृति  ‘घात- प्रतिघातका उद्गारहरू’ (२०२१)प्रकाशित हुन्छ। 

साहित्य क्षेत्रमा नैना अधिकारी नामले परिचित तर न्वारनको नाम भने नयनकला देवी रहेछ। सन् १९८८ को २७ सेप्टेम्बरमा उनको जन्मभएको हो भने बाबुको नाम  नरप्रसाद उपाध्याय र  आमा पार्वती देवी हुन्।। उनको विवाह इदुनाथ अधिकारी ( दीपेन्द्र) सँग सन् २००९ मा भएको हो। बी.ए सम्म पढेकी नैना गृहिणी कर्ममा रमाउँदै सांसारिक जीवन खुसियालीमै बिताइरहेकी छन्। उनको एकमात्र छोरा अमन अधिकारी। अहिले उनको बसोबासो बाँहतला, खेत्री, कामरूप मेट्रोमा रहेको छ। 

उनको सिर्जनात्मक यात्रा सुरु भएदेखि पुरस्कार पाउने क्रम सुरु भएको हो। मेहनतको फल प्राप्त हुन्छ नै। केवल मनमा आत्मविश्वास हुनुपऱ्यो। नैनाले साहित्यिक यात्राको छोटो समयमै बटुलेका पुरस्कारहरू…… 

१. असमेली मुक्तक मञ्चको राज्यतहको मुक्तक प्रतियोगितामा पहिलो स्थान। सन् २०२१

२. इन्द्रेनी प्रकाशन, असम तथा देउराली साहित्य सामाजिक मञ्चको संयुक्त आयोजनामा सम्पन्न भएको पूर्वोत्तर भारततहको कविता प्रतियोगितामा पहिलो स्थान। सन् २०२१

३. अखिल असम गोर्खा छात्र सङ्घको डिब्रुगढ़ विश्वविद्यालय एकाइले आयोजना गरेको राज्यतहको नेपाली कविता लेखन प्रतियोगितामा दोस्तों स्थान।  सन् २०२२

४. इन्द्रेनी प्रकाशन असमद्वारा आयोजन गरिएको निबन्ध प्रतियोगितामा दोस्रो स्थान। सन् -२०२२

५. दक्षिण- पूर्व गुवाहाटी भानुजयन्ती समारोह समितिले आयोजना गरेको निबन्ध प्रतियोगितामा दोस्रो स्थान। सन् २०२२

६. गोर्खा. एम. ई. स्कुल ७५ औँ वार्षिकोत्सव समारोह समितिद्वारा आयोजित स्वरचित कविता प्रतियोगितामा तेस्रो स्थान। सन् २०२२

यसपछि २०२३ को साहित्य अकादेमीको युवा पुरस्कार। ‘घात – प्रतिघातका उद्गारहरू’ कविता कृतिका लागि। आफ्नो लेखन कर्मका लागि प्राप्त यी पुरस्कारहरूले सत्कर्मको वकालत गर्दछन्। कर्म नै धर्मको शिक्षा दिन्छन्। यो पुरस्कार नैनाले होइन नैनाको कर्मले पाएको हो। एउटा सुन्दर कृतिले  यथोचित सम्मान पाएको हो। केवल मात्र साहित्य साधनामा तल्लीन भएर लागिपर्ने  सर्जकहरूले पाएका हुन्। सम्भावनापूर्ण लेखन कर्मलाई अझ मलजल दिने युवा पुरस्कारको साँचो हकदार नैना अधिकारी हुन्। 

नैनाको सिर्जनात्मक यात्रा विरामहीन गतिमा अघिबढिरह्यो। देश- विदेशका विभिन्न पत्रपत्रिकामा रचनाहरू छापिन थाले। कवितामा मात्रै ध्यान केन्द्रित नगरी उनी निबन्ध र समालोचना लेखनतिर लागिन्। हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, हिमाली बेला, साहित्यपोस्ट, नेपालदूत, साहित्यमित्र आदिमा निरन्तर रचनाहरू छापिन थाले। केही हिन्दी पत्रिकामा हिन्दी कविताहरू पनि छापिए। अर्थात् नेपाली र हिन्दी दुवै भाषामा कलम चलाइरहिन्। यसैबिच सन् २०२३ मा इन्द्रेनी प्रकाशन, असमले उनको समालोचना सङ्ग्रह ‘ साहित्य सिर्जनाका बान्कीहरू’ प्रकाशमा ल्याउँछ। अब २०२३ को जुलाईमा फेरि अर्को कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ। समालोचना पनि हप्तेपछि एउटा पुस्तकको लेखिरहेकी छन्। सायदै २०२४ को फेब्रुअरीमा फेरि अर्को समालोचना पुस्तक निस्किएला। लेखनमा निरन्तरता छ। अहङ्कारको बिन्दु पनि कतै देखिँदैन। सरल, सहज बोली र पहिरनले नैनालाई अध्ययनशील बनाएको भान हुन्छ। अग्रजहरूको सल्लाह, सहयोग पनि सर्वदा सम्झिने गर्छन्। छोटो समयमा धेरै अभिज्ञता र उपलब्धि बटुल्न सक्षम भइन् नैना। 

प्रेमिल मुक्तकबाट साहित्य यात्रा सुरु  गरेर  कवितासम्म आइपुग्दा विशेषरूपले  कवितामा  सामाजिक विसङ्गतिहरूलाई सबलरूपले उपस्थापन गर्न सफल भएकी छन् नैना।  नैनाका कवितामा सामाजिक विषयहरूको उठान गर्दै पाठकहरूबिच सोचको खोराक पस्किनु र कवितालाई केवल मनोरञ्जनको साधन मात्रै नबनाएर जनमानसलाई जागरुक बनाउने पक्षमा लागिपरेकी  नैना अधिकारीलाई विगतको लकडाउनले सिर्जनात्मक खेतीमा मलजल दिने काम अवश्य नै गरेको छ जस्तो लाग्दछ । सामाजिक सरोकारलाई मूल विषयका रूपमा लिएर कविता सिर्जना गर्नुसक्नु नै आजका कविहरूको दायित्व हो जस्तो मलाई लाग्दछ, सो दायित्व  सक्तो निभाएकी  छन् नैनाले। नैनाका  कवितामा कपोलकल्पना मात्रै नभएर वास्तविक विषयलाई कलात्मक ढङ्गले कवितामा प्रस्तुत गर्ने अभिप्राय देखिन्छ । कवितामा विचार र कलाको सही सन्तुलनलाई  ख्याल गरेजस्तो लाग्छ ।  सन् २०२२ देखि ‘इन्द्रेनी प्रकाशन, असम’ मा संलग्न रही विभिन्न साहित्यिक गतिविधिमा सक्रियतासहित कार्य सम्पादन गरिनैरहेकी छन्। वर्तमान उनी इन्द्रेनी प्रकाशन, असमको निर्देशक मण्डलीमा रहेर यावत् कार्यहरूमा तल्लीन छन्। उनको सिर्जनात्मक कर्मले अझै धेरै पुरस्कार र सम्मान बटुल्छ भन्ने आशा र विश्वाससहित नैनालाई सन् २०२३ को साहित्य अकादेमीको युवा पुरस्कारका लागि अजस्र शुभकामना, धेरै धेरै बधाई  छ। नैनाले पुरस्कारसँगै कीर्तिमान पनि रचेकी छन्। भारतेली नारी सर्जकहरूमा युवा पुरस्कार प्रापक  पहिलो नारी नैना अधिकारी हुन्।  असमले भने यो पुरस्कार‌ दोस्रो पटक प्राप्त गरेको छ। यसअघि ‘दृष्टि’ निबन्ध सङ्ग्रहका लागि अञ्जन बाँसकोटाले यो पुरस्कार प्राप्त गरेका हुन्। मेहनत, निरन्तरता र अध्ययन रहे नैनाको सिर्जनात्मक यात्रा अझ धेरै पुरस्कारै पुरस्कारले सजिने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *