दार्जीलिङ पहाड़, तराई अनि डुवर्सतिर मूलभूत पूर्वाधार तथा सुविधाहरू प्रदान गर्न जीटीए र बंगाल सरकार असक्षम छन्: राजु विष्ट
दार्जिलिङ: दार्जिलिङका भाजपा सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्ट आज दार्जिलिङ बिजनबारी खण्डको किजोम बस्तीमा शहीद सिद्धान्त छेत्रीको परिवारसँग भेट गर्न पुगेका थिए। उनी हालमा पञ्चायत चुनावको लागि पहाड़को विभिन्न स्थानहरूमा चुनाव प्रचारमा व्यस्त रहेका छन्। यसै क्रममा आज सांसद राजु विष्ट शहीद सिद्धान्त छेत्रीको गाउँ पनि पुगेका छन्। शहीद सिद्धान्त छेत्रीको परिवारलाई भेट्नका लागि किजोम बस्ती जाँदा नयाँ बस्तीमा अगमसिंह गिरी हाई स्कूलबाट किजोम बस्तीसम्म सांसद राजु विष्ट पिक् अप भ्यानको पछाड़ी बसेर यात्रा गरेका थिए। प्याराट्रुपर सिद्धान्त छेत्रीले रजौरी सेक्टरमा देशको रक्षा गर्ने क्रममा दुश्मनहरू विरुद्ध लढ्दै वीरगति प्राप्त गरेका थिए। मात्र २४ वर्षको कलिलो उमेरमा नै उनले देशको लागि सर्वोच्च बलिदान दिएका थिए। सारा राष्ट्र उनको यस बलिदान निम्ति नतमस्तक छ, साथै शोकाकूल छ भनी सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले भनेका छन् कि सिद्धान्तले गोर्खा वीरहरूको त्यो महान एवं उज्ज्वल मार्ग रोजे जहाँ उनीहरूले राष्ट्रको सेवामा आफ्नो प्राण न्यौछावर गरेका छन् अनि अन्तिम श्वाससम्म लड़ेका छन्।

यसावधि सांसद राजु विष्टले कृतज्ञ राष्ट्रको तर शहीद सिद्धान्त छेत्रीको परिवारजनप्रति उच्च सम्मान एवं गहिरो समवेदना साझा गरेको जानकारी गराइएको छ। राजु विष्टले परिवारप्रति आफुलाई आफ्नै घरको छोरो मान्न आग्रह गर्दै कुनै पनि आवश्यकता परे सदैव उपस्थित रहने आश्वासन दिएको बताइएको छ। यसावधि सांसद राजु विष्टले शहीद सिद्धान्त छेत्रीको परिवारसित भेटघाट गरी गहिरो शोक समवेदना प्रकट गरेका छन्। उनले भने, ‘गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) सञ्चालन गर्नेहरू अनि पश्चिम बङ्गाल राज्यलाई भन्न चाहन्छु कि एकचोटि सोचेर हेर के उनीहरू यस्तो सुनिश्चित गर्न सक्षम भएका छन्? जीटीए र पश्चिम बङ्गाल सरकार चलाउनेहरूले आफ्नो शिर लाजले झुकाउनु पर्छ। किनभने, हाम्रो दार्जीलिङ अनि कालेबुङ पहाड़ी क्षेत्रका म पुगेको हरेक गाउँमा मूलभूत पूर्वाधारको भयङ्कर कमी छ अनि सड़कहरूको हालत जर्जर छ, पिउने पानीको अभाव छ, स्कूलहरू भत्किएको स्थितिमा छन् अनि स्वास्थ्य सेवा सुविधाहरूको नामोनिशान छैन।’

सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्दै अघि भने, ‘स्वतन्त्रता प्राप्तिका ७६ वर्ष बितिसक्दा पनि संवेदनशील ‘चिकेन नेक’ क्षेत्रमा रहेको हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सीमाना गाउँहरूमा मूलभूत पूर्वाधार तथा सुविधाहरू प्रदान गर्न जीटीए र पश्चिम बङ्गाल सरकार असक्षम रहेका छन्। शहीद सिद्धान्त छेत्रीको परिवारलाई भेट्नका लागि किजोम बस्ती जाँदा नयाँ बस्तीमा अगमसिंह गिरी हाई स्कूलबाट किजोम बस्तीसम्म मैले ४x४ पिक अप गाड़ीमा लिफ्ट माँगी यात्रा गरें, किनकि त्यसबीचको सड़कको हालत यति जर्जर छ कि ४x४ पिक अप गाड़ीमा बाहेक सामान्य वाहनमा ती गाउँहरूसम्म पुग्न सकिँदैन। किजोम बस्तीदेखि नेजी बस्ती, अनि नेजी बस्तीदेखि कोलबुङ अनि लोवर रङ्डु ग्राम पञ्चायतको मध्यसम्मको सड़कको अवस्था पनि त्यस्तै छ।’

सासंदले अझ भने, ‘यो उपत्यका दार्जीलिङ पहाड़मा खेती-किसानी अनि कृषिको केन्द्र हो। यी गाउँहरू अर्गेनिक कृषि उत्पादहरू, फल अनि फूलहरूको लागि व्यापक रूपमा चिनिन्छन्। तर सड़क सम्पर्कताको कमीले गर्दा यी उत्पादनहरूलाई बजारमा पुऱ्याउन गाह्रो हुन्छ। हरेक दिन हजारौं मानिसहरू यहाँबाट दार्जीलिङ शहर, बिजनबारी, जोरथाङ, सिलगढ़ी आदि ठाउँहरूमा जानु पर्ने हुन्छ। म सोच्न पनि सक्दिन कि विद्यार्थी, रोगीहरू, वृद्धजन, अथवा आपतकालीन स्थितिमा यात्रा गर्न पर्नेहरूलाई कति कठिनाई झेल्नु पर्छ होला। यहाँ स्थानीय निवासीहरूले यात्रा गर्नमा नै पाँच गुणा धेरै समय लगाउनु पर्ने बाध्यता छ, अनि यसरी यात्रा अनि सरसामान तथा सेवाहरूको ढुवानीको लागत पनि ५ गुणा धेरै पर्न जान्छ।’

उनले भने, ‘केन्द्र सरकारद्वारा पीएमजीएसवाई, आरआईडीएफ, बीएडीपी(PMGSY, RIDF, BADP) जस्ता योजनाहरू मार्फत ग्रामीण पूर्वाधारको विकास निम्ति आवन्टित कोषहरूलाई जीटीए चलाउनेहरूले पश्चिम बङ्गाल सरकारको सञ्चालन गर्नेहरूसित मिलेर डकारेका छन्। हाम्रा जनताका लागि भनेर आएको रकमको दुरुपयोग गरेर धूर्त राजनेताहरू धनी भएका छन्। हामीले यस्तो परिपाटिको अन्त्य गर्नु पर्दछ। म, हाम्रो क्षेत्रका मतदाताहरूसँग बीजेपी अनि हाम्रो गठबन्धन पार्टीका उम्मेदवारहरूलाई भोट हाल्न आग्रह गर्दछु ताकि हामीले यी गाउँहरूको कायाकल्प गर्न सकौँ, अनि सबै मूलभूत पूर्वाधार अनि अन्य सुविधाहरूको उपलब्धता सुनिश्चित गर्न सकौँ। यस्तो डरलाग्दो घोटालाले ग्रस्त वर्तमानबाट बाहिर निस्कन, कृपया उत्कृष्ट भविष्यको लागि भोट हाल्नुहोस्।’

यसावधि सांसद राजु विष्टले किजोम बस्ती, नेजी बस्ती, कोलबुङ, लोअर रोङ्डु अनि वरिपरिका गाउँहरूमा सड़क सम्पर्कता सुनिश्चित गर्नका लागि मेरो सामर्थ्यले भ्याएसम्म अनि जतिसक्दो चाँडो पक्का सड़कको निर्माण गर्न सबै प्रयास गर्नेछु भनी आश्वासन दिएका छन्।









